घुस्याहा तत्कालीन अख्तियार आयुक्तमाथि अख्तियारकै एक्सन

  १२ चैत्र २०७५, मंगलवार १६:४१ मा प्रकाशित

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै रु ७८ लाख घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायको आयुक्त नै घुस प्रकरणमा तानिएको यो पहिलोपटक हो । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको उजुरी मिलाइदिने भन्दै पाठकले घुस लिएको श्रव्यदृश्य सामग्री केही समय पहिले सार्वजनिक भएको थियो । उक्त सामग्री सार्वजनिक भएपछि पाठकले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार विचाराधीन उजुरीलाई मिलाइदिने भनी तत्कालीन आयुक्त पाठकले सोही कलेजका सञ्चालकसँग घुस लिएको ठहरसहित आज मुद्दा दायर गरिएको हो । कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानेसँग घुस लिएका विषयमा प्राप्त भएको श्रव्यदृश्य सामग्रीसमेत आयोगले अदालतमा पेश गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायका आयुक्त नै घुस लिएको भन्ने विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उजुरीका रुपमा दर्ता गरी आयोगले छानविन गरेको थियो । उजुरी छानविन हुँदा तत्कालीन आयुक्त पाठकले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने घुस लिएको देखिएको थियो ।

अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाटसमेत पुष्टि भएको देखिएको भन्दै आयोगले पाठक र कलेज सञ्चालक न्यौपाने दुवैलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ । सो प्रकरणसँग जोडिएका पाठकका भाई शुभनारायणले घुस लिएको भनिएको रु १५ लाख नेपाल इञ्जिनीयरिङ कलेजसँग सम्बन्धित नरहेको भन्दै थप अनुसन्धान गर्ने आयोगले निर्णय गरेको छ । उक्त घुस रकम नयाँ कलेज सम्बन्धनका लागि लिएको भन्ने सम्बन्धमा थप अनुसन्धान गर्ने निर्णय गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
आयोगका अनुसार पाठकसँग ७८ लाख बिगो माग गरिएको छ भने घुस दिने नाइके भनिएका लम्बोदर न्यौपानेसँग पनि ७८ लाख बिगो र कैद सजायँको माग गरिएको छ ।

प्रतिक्रिया