१५ बैशाख २०८१, शनिबार
Follow Us

सुजतालाई झापा–हङकङ मञ्चको सहयोग

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार ०७:०६

दमक । एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ । काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु एक लाख ९२ हजार ३५ सहयोग गरेको हो ।

हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा सङ्कलन भएको सो सहयोग रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायिक मञ्च दमककी सहसचिव लक्ष्मी सुब्बा, नेपाली काँग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला सङ्घ झापा–७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्तरुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूलाई हस्तान्तरण गर्नुभएको थियो ।

सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूले स्वदेश तथा विदेशबाट सुजताको उपचारका लागि रु २५ लाख बढी सहयोग जुटेको बताउनुभयो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका २२ वर्षीया सुवेदी स्वास्थ सहायक अध्ययनरत हुनुहुन्थ्यो । उहाँलाई बचाउन स्थानीयवासीले अभियान सञ्चालन गरेर सहयोग सङ्कलनमा जुटेको छ ।