१२ बैशाख २०८१, बुधबार
Follow Us

दोहाको सीधा उडान

नेपालब्रिटेन डट कम्
८ माघ २०७३, शनिबार ०७:०६

काठमाडौं । नियात्राकार एवम् कवि जय छाङ्छाको नियात्राकृति ‘दोहाको सीधा उडान’ तथा नियात्रा कविताकृति ‘यात्रामा कविता’ को विमोचन गरिएको छ । स्रष्टा पदयात्रा अभियानअन्तर्गत तेस्रो पदयात्रा शृङ्खलाको क्रममा स्रष्टा तथा पत्रकार टोली शुक्रबार नागार्जुन नगरपालिकाको पौराणिकस्थल इन्द्रदहअर्थात् देवदहको सिह्रानमा अवस्थित ऐतिहासिकस्थल एवम् काजी कालु पाण्डेको समाधिस्थलमा भएको कार्यक्रममा ती कृतिहरु विमोचन भएका हुन् ।
स्थानीयवासी एवम् समाजसेवी भरत खत्रीको सभापतित्व एवम् प्रसिद्ध साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भर्खरै प्रकाशित यात्रामा कविताको अङ्ग्रेजी अनुवाद कृति ‘द्याट आई लभ्ड द वल्र्ड’ को सार्वजनिकीकरण पनि गरिएको थियो ।
विमोचन कृतिका बारेमा अन्वेषकद्वय डा भक्त राई तथा शीतल गिरीले प्रकाश पार्नुभयो भने साहित्यकार नारायण तिवारी, शशी थापा पण्डित, डिल्लीराज अर्याल, पत्रकार डिल्लीरमण सुवेदीले आआफ्ना विचार राख्दै रचना समेत प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि भुवनहरि सिग्देलले समुद्रको सतहभन्दा २,३७० मी उचाइमा अवस्थित ऐतिहासिक स्थलमा प्रसिद्ध नियात्राकारका दुई कृति विमोचन गर्ने सुअवसर दिनुभएकोमा सम्पूर्ण रामकोटबासीका तर्पmबाट हार्दिक बधाई दिँदै आफ्नो बाल्यपनमा काफल खोजी खाने स्थानमा प्रमुख अतिथि भई कृतिको विमोचन गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्नुभयो ।
त्यसैगरी, स्थानीय समाजसेवी एवम् कार्यक्रमका सभापति भरत खत्रीले कुनै पूर्व योजनाबिना यति राम्रो कामका लागि आफ्नै गाउँको धार्मिक पूण्यभूमि तथा ऐतिहासिकस्थलमा पुस्तक विमोचनको सभापतित्व गर्न पाउनु अत्यन्त हर्ष र खुसीको कुरा हो भन्नुभयो ।