१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन नेतृत्व चयनका लागि विदेशबाटै मतदान

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार ०७:५६

न्युयोर्क— गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संस्थाको नेतृत्व चयनका लागि बसोबास गर्ने देशबाटै मतदान व्यवस्था मिलाइनु पर्ने बताएका छन्।

‘नेपालमा लगानी गरौं’ भन्ने नारा सहित क्यानडाको टोरन्टोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघलाई नेपालीको बृहत् एकताको आधार बनाउन आवश्यक छ। यसका लागि काठमाडौं गएरै मतदान गर्नुपर्ने अहिलेको व्यवस्था फेरिनु पर्छ। मतदाता जुन मुलुकमा छ त्यहीँबाट मतदानको व्यवस्था मिलाइनुपर्छ।’

अध्यक्षको प्रत्यासीका रुपमा हेरिएका उपाध्यक्ष पन्तले यस्तो व्यवस्था भए एनआरएनएलाई वास्तवमै सबै गैरआवासीय नेपालीको छाता संगठन बनाउन सकिने बताए।

आधी नेपाल मुलुक बाहिर रहेको उल्लेख गर्दै उनले नेपालको राजनीतिक प्रक्रियामा समेत गैरआवासीय नेपालीले मताधिकार पाउनुपर्ने माग गरे।

‘मुलुकको सम्वृद्धिका लागि महत्वपूर्ण आयोजनामा लगानी गर्न अध्ययन अन्तिम चरणमा पुगेको छ। पाइपलाइनमा रहेका ती आयोजना छिटै सार्वजनिक गर्दैछौं’
लगानी केन्द्रित एक दिने उक्त सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष पन्तले गैरआवासीय नेपालीले आफ्नो क्षमताअनुसार संयुक्त कोष बनाएर नेपालमा लगानी गर्नुपर्ने बताए। आफ्नो नेतृत्वमा नेपालमा ठूलो आयोजनामा लगानी गर्न तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

‘मुलुकको सम्वृद्धिका लागि महत्वपूर्ण आयोजनामा लगानी गर्न अध्ययन अन्तिम चरणमा पुगेको छ। पाइपलाइनमा रहेका ती आयोजना छिटै सार्वजनिक गर्दैछौं’, उनले भने, ‘एनआरएन आइसीसी बैठकपछि लगानीसम्बन्धी बृहत् कार्यक्रम सार्वजनिक हुनेछ। त्यसपछि हामी योजनै सार्वजनिक गर्नेछौं।’ यी परियोजनामा सहभागी हुन उनले क्यानडबासी नेपालीलाई आह्वान गरे।

अहिले नेपालको कूल अर्थतन्त्रको ३० प्रतिशत विदेशमा बस्ने नेपालीले धानेको दृष्टान्त प्रस्तुत गर्दै एनआरएनले चाहे जस्तासुकै योजना सम्पन्न गर्न सक्ने उनले दाबी गरे। नाफामूलक क्षेत्रहरु हाइड्रोपावर, बैंक, होटलमा लगानी गर्न उनको सल्लाह थियो।

‘व्यक्ति धनी भएर खासै केही नहुने रहेनछ। गरिब देशको धनी नागरिक हुनुभन्दा धनी देशको गरिब जनाता हुनु ठीक छ’, उनले अनुभव सुनाउँदै भने, ‘विभिन्न देश घुम्ने क्रममा हामीले निकै कष्ट भोग्नु परेको छ। यो सञ्जालमार्फत् सम्वृद्ध नेपालका लागि क्षमताअनुसार केही गरौं भन्ने मेरो अनुरोध छ।’

लाप्राकमा सहयोग गर्न अनुरोध
उपाध्यक्ष पन्तले गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा निर्माण गरिरहेको ६१२ घर सहितको एकीकृत बस्ती निर्माण अभियानमा सहयोग गर्न क्यानडाको नेपाली समुदाय समक्ष आग्रह गरे।

‘हामीले व्यक्ति व्यक्तिको घर मात्र निर्माण गरिरहेका होइनौं। पूरै बस्ती विकास गरिरहेका छौं। त्यसमा विद्यालय तथा सामुदायिक स्वास्थ्य केन्द्रहरु समेत छन्।’
महाभूकम्पको केन्द्रविन्दू लाप्राकस्थित गुम्सी डाँडामा ६२६ रोपनी क्षेत्रफलमा संस्थाले एकीकृत बस्ती निर्माण गरिरहेको जानकारी दिँदै उनले भने, ‘हामीले व्यक्ति व्यक्तिको घर मात्र निर्माण गरिरहेका होइनौं। पूरै बस्ती विकास गरिरहेका छौं। त्यसमा विद्यालय तथा सामुदायिक स्वास्थ्य केन्द्रहरु समेत छन्।’

राष्ट्र पुनःनिर्माणको यो अभियानमा सघाउने वचन दिएकाहरुलाई उनले तत्काल रकम हस्तान्तरण गरी सहयोग गर्न आग्रह गरे। ‘राष्ट्रसेवाको यो एउटा अवसर हो। आर्थिक सहयोग नगरेका साथीहरुलाई म लाप्राक गएरै सहयोग गर्नुहुन आग्रह गर्दछु’, उनले भने।

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्यले गैरआवासीय नेपालीले नेपालमा लगानी गरिरहेका क्षेत्रबारे जानकारी दिएका छन्। होटल र हाइड्रो गैरआवासीय नेपालीका लागि उच्च सम्भावनाको क्षेत्र भएको उनको भनाइ थियो।

नेपालामा लगानी गर्न केही चुनौती भए पनि मातृभूमिका लागि योगदान गर्ने सही समय यही भएको उनले बताए। ‘लगानीका लागि नेपालमा केही अप्ठ्यारा होलान्। तर सानातिना कुरामा अल्झिनुभन्दा क्षमताअनुसार लगानी गर्नु बुद्धिमानी ठहर्नेछ’, उनले भने।
16265414_1375911139126273_5300121413831033742_n

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनअारएनए अाइसीसी सल्लाहकार नवराज गुरुङ, नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धि ओली, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिंखडा कार्यक्रममा सहभागी थिए।

एनआरएन क्यनडाका अध्यक्ष तुलसी सापकोटा, कार्यक्रम संयोजक तुला भट्टचनले मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाली जनसम्पर्क समिति नेता दीपक भट्टराई सहितका व्यक्तित्वको सहभागिता थियो। सो कार्यक्रममा भूकम्प पीडितका लागि लाप्रांकमा बन्दैं गरेको घर निमार्णका लागि ९ हजार क्यानेडियन डलर जम्मा भएको थियो ।
16114555_1888704901349423_5795371963913864493_n