७ बैशाख २०८१, शुक्रबार
Follow Us

छक्कापन्जाको कारणले मान्छे म-यो भन्नु अपराध हो

नेपालब्रिटेन डट कम्
१० माघ २०७३, सोमबार १४:२१

दिपकराज गिरी, कलाकार
छक्कापन्जा चलचित्र र यसका निर्माताहरु अहिले चर्चामा छन् । फिल्मले धेरै कमाएर चर्चामा आएको होइन, पाइरेसी काण्डमा एक व्यक्तिको ज्यान गएपछि चलचित्र प्रमोशनका लागि युरोप पुगेका निर्माताद्वय दिपकराज गिरी र दिपाश्री निरौला रातारात फर्किए । प्रहरी अनुसन्धानलाई सहयोग गर्न आफूहरु फर्किएको दिपकले बताएका छन् । वास्तविक घटना के हो, चलचित्र किन विवादमा तानियो भन्ने विषयमा निर्माता दिपकराज गिरीसँग गरिएको कुराकानी–

० छक्कापन्जाको पाइरेसीका कारण एक व्यक्तिले ज्यान गुमाए भनिन्छ । प्रतिक्रिया के छ ?
– पे्रमी र पे्रमिकाबीच आरोप प्रत्यारोप भएर एउटा झुण्डियो भने त्यसलाई सजाय दिन्छ मिल्छ कि मिल्दैन ? हाम्रो कहाँनेर ध्यानाकर्षति भयो भने हामीले ज्यान मार्ने धम्की दिइयो भन्ने कुरामा हो । यदि दिएको भए त्यो गलत हो । हामीले ज्यान मार्ने धम्की दिएको छैन, बरु हामीले उल्टै रिहा गरेको अवस्था हो । पाइरेसीमा उसको नाम जोडियो, होइन भन्न मिल्दैन । उनले पैसा कमाउने उद्देश्यले त्यसो गरेका होइन रहेछ । लहडबाजीमा गरेको रहेछ । छक्का पन्जाको मूलश्रोत हाम्रै कारणले बाहिरिएको रहेछ, त्यो भाइलाई जेल हाल्नु वा सजाय दिनु हुँदैन । तर भाइ सेयर गर्नु अपराध हो भनेर सम्झाएर छोडिएको अवस्था थियो ।
मैलेभन्दा पनि हाइलाइटसले सम्झाएको हो । हाइलाइटसलाई घाटा भएको छ, हामीले त बेचिसकेको चिज हो । हामीले पाउनुपर्ने मुनाफा पाइसकेको अवस्था थियो । हामीले एक दिन पनि कष्टडीमा नराखी छोड्यौं, छोडिसकेपछि हामी युरोपमा कार्यक्रम गर्न गइहाल्यौं । यस्तो अवस्थामा हामी आकर्षित नहुनुपर्ने हो, हामीले ज्यान मार्ने दियौं, छक्कापन्जाको कारणले मान्छे म-यो भन्नु अपराध हो । देशकै प्रधानमन्त्रीलाई आरोप लाग्यो भने प्रहरी चौकीमा जानुपर्छ । छानबिनमा सहयोग गर्नुपर्छ । आरोप लाग्यो भन्दैमा आत्तिनु हुँदैन । कानुनी बाटोतर्फ जानुपर्छ । त्यसकारण हामी आफै प्रहरीमा गएर छानबिन गर्नुस्, हामी दोषी छौं भने हामीलाई कारबाही गर्नुहोस् । त्यसकारण छक्कापन्जाले गर्दा मान्छे झुण्डियो भन्नु हुँदैन, अरु कारण पनि हुनसक्छ । मर्ने डिसिजन गरेपछि सुसाइट नोटकमा म दिपकराज गिरीले धम्काएकाले मरेको हो भनेर लेख्न सक्थ्यो । छाक्कापन्जाले कमाएको लोकप्रियतासँगसँगै केही मान्छेलाई पोलेको हुनसक्छ । मृतकको परिवार दुःखी हुनु स्वभाविक हो । छानबिन होस् भन्नु ठीकै हो । तर, दिपकले धम्काएको कारणले भन्ने चाहिँ निराधार कुरा हो ।

० तपाईंले कृष्णलाई प्रहरीमा लिएर जाँदा उसको मानसिकता कस्तो थियो ?
– सुरुमा त उ अच्चिमित प-यो । जसरी पनि पत्ता लाग्दो रहेछ उनको मानसिकता थियो । यो त पुलिस केस हुँदो रहेछ भन्ने देखियो । मबाट गल्ती भएको रहेछ भन्ने कुरा उसले विस्तारै बुझ्यो । अञ्जानमा गल्ती भयो भन्यो, तर कानुनले अन्जान भन्दैन । तर, आत्तिएको, डराएको अवस्था थिएन त्यहाँ । उसलाई मैले गल्ती गरेछु भन्ने महसुस भएको थियो । मैले उसलाई भाइ अब यस्तो काम नगर भनेको थिएँ ।

० यस बीचमा तपाईं र कृष्णको परिवारसँग दोहोरो संवाद भयो ?
– छैन, अहिलेसम्म भएको छैन । कृष्णको परिवारसँग दोहोरो संवाद हुनुपर्छ । किनभने मान्छेले धमिलो पानीमा माछा मार्ने प्रयास गर्नेछन् । दिपकराज गिरीसँग रिस गर्ने वा छक्कापन्जासँग जल्नेहरुले कृष्णका परिवारलाई यो फिल्म नआएको भए तेरो भाइ मर्ने थिएन भन्न सिकाउँछन् । उहाँहरुले प्रहरीमा निवेदन दिएको हुनुपर्छ । त्यसकारण अब भेट्ने वातावरण हुनैपर्छ ।

० दिपकराज गिरीले ज्यान मार्ने धम्की दियो भन्ने हल्ला किन चल्यो ?
– म एउटा लामखुट्टे मार्दा पनि सोच्ने गर्दछु । प्राणीको ज्यान अमूल्य हुन्छ भनेर म आफै साहकारी व्यक्ति हुँ । त्यसकारण मेरो मुखबाट मार्छु भन्ने शब्द निस्कदा पनि निस्कदैन । समाजमा एक किसिमको लोकप्रियता कमाइसकेपछि मानिस स्वभावैले आरिस गर्छन् । शत्रु कमाउन केही गर्नुपर्दैन । टोलमा ठूलो घर बनाइदिनुभयो भने वरपरका छिमेकी दुस्मन भइदिन्छन् । त्यो दिनदेखि कृष्णभाइसँग मेरो दोहोरो संवाद भएको छैन ।

० प्रतिलिपि अधिकार हाइलाइटलाई दिइसक्नु भएको छ । त्यहाँबाट केही भयो कि ?
– हाइलाइट्सका प्रमुख ओम गुरुङ पनि आक्रमक व्यक्ति होइनन । नोक्सान उहाँलाई भएको हो । हाम्रो आर्थिक क्षति केही भएको छैन । चलचित्रले नाम दाम कमाइसकेपछि यो घटनामा म आकर्षित हुनुपर्ने अवस्था छैन । पाइरेसी प्रकरणले उद्योग धरापमा पर्दैछ, त्यसमा मेरो चिन्ता हो । प्रहरीमा निवेदन दिएको पनि मैले होइन, निर्र्माताका रुपमा मैले हस्ताक्षर गर्नुपर्ने थियो, गरेँ । एकजनाले अर्कोलाई देखायो, अर्कोलाई समातेर गाडीमा हालियो, प्रहरीमा पु¥याइयो । हाम्रो पनि कमजोरी थियो, हाम्रै युनिटका साथीका छोराले घर बाहिर ल्याएको रहेछ । कानुनी दोष हाम्रो मान्छेलाई लाग्छ । ती भाइहरुले जानेर वा नजानेर सेयर गरेका हुन् । घरबाट थैली बाहिर निकाल्ने त हाम्रै मान्छे हुन्, त्यसको नैतिक जिम्मा त हामीले लिनुपर्छ । त्यसकारण कृष्णलाई थुन्नु हुन्न भन्ने निष्कर्षमा सर्वेन्द्र सर पुग्यौं । हाइलाइट्सलाई पनि सम्झायौं, उहाँहरुले हाम्रो ठूलो क्षति भयो भन्नुभयो । क्षति भए पनि भाइहरुलाई सबै दोष दिन मिल्दैन, उसलाई छोडौं भनियो ।

० यो घटनापछि तपाईंको मानसिकता कस्तो भयो ?
– घटना भएका बेला म यही थिएँ, त्यसबेला एक डेढसय मानिसले हेरेका थिए । त्यसकारण यसले ठूलो समस्या ल्याउँदैन, यसले समस्या ल्याउँदैन भनेर ३–४ दिनपछि चलचित्र बोकेर यूरोप गइयो । समस्या आएको पनि थिएन । युरोप पुगिसकेपछि यो भाइरल भयो । भाइरल भएको फाइल पनि यो होइन, भाइरल भएको फाइल अर्कै थियो । जुन अस्ट्रेलियाबाट पाइरेसीका लागि आउट भयो । मलेसियाबाट सेयर भएको छ । पहिलो पटक सुनेपछि छक्का पन्जा पाइरेसी भयो, हामी दुःखी छौं भनेर मैले फेसबुकमा लेखे । पाइरेसी गर्ने व्यक्ति होइन, गिरोह छ यसमा । हरेक फिल्म यो गिरोहले पाइरेसी गरिरहेको छ भनेर स्टाटस लेखे । त्यसपछि यूरोप यात्रा छोटयाउने निर्णय ग¥यौं । भोलिपल्ट त्यो भाइले आत्महत्या ग¥यो भनेर फोन आउँछ ।

० छक्कापन्जा समूहभित्रकै कोही दोषी पाइयो भने के गर्ने ?
– यदि दोषी म हुँ भने सजाय भोग्न तयार छु, तर यहाँ अर्को मान्छेले धम्काएको हुनसक्छ । अर्को तत्व आएको हुनसक्छ । पोस्टमार्टमको रिर्पोट आएको छैन, त्यो हत्या पनि हुनसक्छ । यी सबै कुरा भविष्यको गर्भमा छ । कल डिटेल, म्यासेज हेर्नुपर्छ । फेसबुकमा कसैसँग संवाद भएको छ भने त्यो पनि छानबिनको दायरामा ल्याउनुपर्छ । त्यो भाइ हाम्रो दिमागबाटै हटिसकेको थियो । त्यो भाइलाई कानुनी रुपमा कारबाही गर्न मिल्दैन भनेर छोडिसकेको अवस्था थियो । कथाले यो रुप लेला भनेर हामीले सोचेकै थिएन हामीले ।

० कृष्णको घर परिवारलाई के छ तपाईंको भनाइ ?
– घटनाप्रति दुःखी छु, कृष्णको परिवार पनि हाम्रा दर्शक हुनुहुन्छ । सानो चोरी भयो भनेर कृष्णलाई ज्यान मार्ने कुनै धम्की दिएको छैन मैले । चोरीको कुनै आक्षेप लगाएको छैन । तपाइहरुको जुन नोक्सानी भएको छ, त्यो फिर्ता गर्न म सक्दिन । तपाईंहरुलाई भन्दा बढी नै मलाई दुःख लागेको छ । पाइरेसी मैले नगरे पनि मेरो नाम जोडियो भनेर वर्षौसम्म मेरो मनमा रहिरहनेछ । तपाईंहरुले जुन माग राख्नु भएको छ, त्यो मागमा म पूर्ण साथ दिनेछु । म निर्दोष छु, त्यही कारण प्रहरी चौकीमा गएर आवेदन दिएको छु ।