११ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार महासङ्घ काठमाडौँमा विवाद

नेपालब्रिटेन डट कम्
११ माघ २०७३, मंगलवार ०५:५६

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ । महासङ्घ केन्द्रले आह्वान गरेअनुसार नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि विवाद देखिएको हो । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः अध्ययन थालेको छ ।

सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै सोमबार शाखाको भृकृटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त र भनाभन हुँदा पत्रकारिताका केही सङ्गठनले कार्यालय तोडफोडको प्रयास भएको जनाएका थिए । जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासङ्घ केन्द्रले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टुङ्गो लगाउँदैछ ।

शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पु-याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन सबैको भूमिका हुने बताउँदै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिनुभयो ।

यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले प्रेस विज्ञप्ति जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोडको प्रयास नगरेको जिकिर गर्नुभएको छ ।