१३ बैशाख २०८१, बिहीबार
Follow Us

दक्षिण कोरियाका इलामेद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
११ माघ २०७३, मंगलवार ०५:५८

इलाम । इलाम सूर्याेदय सेवा समाज, दक्षिण कोरियाले वृद्धवृद्धा, अनाथ र दृष्टिविहीन बालबालिकाका लागि रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ । समाजले माईभगवती वृद्धाश्रमका लागि भवन निर्माणका लागि रु ४१ हजार, गोलाखर्कमा रहेको राहसल बाल अनाथलयलाई रु एक लाख एक हजार र दृष्टिविहीन बालबालिकालाई लत्ताकपडाका लागि रु २१ हजार नगद हस्तान्तरण गरेको हो ।

वृद्धाश्रममा निर्माणाधीन भवनका लागि रकम अभाव भएको जानकारी प्राप्त भएपछि कोरियामा बस्ने नेपालीले सहयोग सङ्कलन गरेको इलाम सूर्याेदय सेवा समाज, दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार प्रतीक बोहोराले जानकारी दिनुभयो ।

गोलाखर्कमा रहेका अनाथ बालबालिकालाई शिक्षादीक्षामा टेवा पु¥याउने उद्देश्यले रु एक लाख एक हजार नगद अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरिएको छ ।

सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि बालमन्दिरकी श्रोत शिक्षिका महेश्वरी पाण्डेलाई समाजको तर्फबाट रु २१ हजार नगद हस्तान्तरण गरिएको छ ।

इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाले यसअघि दोलखा जिल्लाको नाम्दु गाविसका करिब २०० भूकम्पपीडितलाई रु दुई लाख ५० हजार, ताप्लेजुङ र सप्तरीका अग्निपीडितलाई रु दुई लाख आर्थिक सहयोग गरेको छ ।

समाजले आर्थिक अवस्था कमजोर भएर काठमाडौँमा उपचाररत इनपाका सुशान्त तामाङलाई हालै रु तीन लाख आर्थिक सहयोग प्रदान गरेको समाजका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो ।