४ बैशाख २०८१, मंगलवार
Follow Us

बिरामीका आफन्त रगत खोज्दै हैरान

नेपालब्रिटेन डट कम्
१२ माघ २०७३, बुधबार ०६:३७

मुगु । मङ्गलबार सदरमुकामबाट एक घन्टा पैदल दूरीमा रहेको रुगा–५ लुम गाउँका दानसिङ विक आफ्नी ३५ वर्षीया श्रीमतीलाई एक सातायतादेखि ज्वरोले सताएपछि एक घन्टा हिँडेर जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न पुगे ।

तर डाक्टरले शरीरमा कम रगत भएको र तत्काल चार प्वाइन्ट ‘ए पोजेटिभ’ रगत खोज्न भनेपछि उनी उक्त समूहको रगत भएका व्यक्ति खोज्न सदरमुकाम गमगढी बजारमा भौँतारिए । दिनभरि बजारमा रगत खोज्दाखोज्दा हैरान भएका उनलाई फेज नेपाल नामक गैरसरकारी संस्थाका अनमी प्रभा देवकोटाले आफ्नो रक्त समूह मिलेको र आफू एक प्वाइन्ट रगत दिन तयार भएको मञ्जुरी दिइन् । स्वास्थ्यकर्मीले उक्त रगत विककी आमालाई दिए तर बाँकी तीन प्वाइन्ट रगत कतै पाइनन् । उनी कतै रगत पाउने आशामा सदरमुकाममा कुरिरहेकी छन् ।

गत पुस ४ गते सुत्केरी व्यथाले च्यापेपछि दुई दिन बोकेर जिल्ला अस्पताल पु¥याइएकी जिमा–७ की २२ वर्षीया सृजना मल्ल अत्यधिक रक्तस्राव भएपछि उनलाई बचाउन पनि रगतको आवश्यकता प¥यो । आफन्त र अस्पतालले सबैतिर रगत खोजे, स्थानीय रेडियो, पत्रिकामा समेत सूचना गरियो । तर कतै रगत पाउन सकिएन ।

उता रक्तस्रावले मृत्युको मुखमा पुगेकी मल्लको अवस्था झन् नाजुक हँुदा आफन्त आत्तिएका थिए । दोस्रो दिन सदरमुकाम सुरक्षार्थ खटिएको भगवती दल गुल्मका केही नेपाली सेना र फेज नेपालकै स्वास्थ्यकर्मी भगवती रानाले रगत दिएपछि उनको ज्यान बच्यो ।

रगत अभावका यी र यस्तै खाले समस्या मुगु जिल्ला अस्पतालमा आउने रगत अभाव भएका बिरामी र सुत्केरी आमा तथा बच्चाका आफन्तले झेलिरहेका हुन्छन् । जिल्ला अस्पताल मुगुका चिकित्सक प्रकाश नेपाली अस्पतालमा रगत कमी भएका बिरामी र सुत्केरी तथा बालबालिका बढ्दै गएको र जिल्लामा ब्लड बैंक नहँुदा स्वास्थ्य सेवामा समस्या हुने गरेको बताउनुहुन्छ ।

धनी हुनेखानेले त जसोतसो मिल्दो समूहका व्यक्ति खोजेर आफ्ना बिरामीलाई बचाउँछन् तर गरिबले कतै रगत नपाउँदा अकालमा आफन्तको ज्यान गुमाउनु परिरहेको छ ।

जिल्ला अस्पतालमा हालै शल्यक्रिया सेवा सुरु भएपनि अग्रिम रगत मौज्दातको व्यवस्था नहँुदा जोखिम मोलेर भगवान भरोसामा शल्यक्रिया गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक सरोज अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “माघ ७ गते जिमा–७ की २२ वर्षीया जयलक्ष्मी मल्ल र गत कात्तिक ४ गते श्रीनगरकी २४ वर्षीया राज्यलक्ष्मी हितानको शल्यक्रिया गरेर बच्चा निकालियो, तर भगवान भरोसामा दुर्गमका जनतालाई चिकित्सकीय सेवा दिने हो भने सरकारले प्रत्येक जिल्ला अस्पतालमा ब्लड बैंकको व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

गत साउनबाट पुससम्म जिल्ला अस्पतालबाट एकसय १३ जना महिलाले जिल्ला अस्पतालबाट प्रसूति सेवा लिएर बच्चा जन्माएको स्वास्थ्यकर्मी रामदेवी सेजुवाल बताउनुहुन्छ । “तिनीहरुमध्ये प्रायःको शरीरमा रगतको कमी थियो, तर जिल्लामा पाउनै गाह्रो जोखिम मोलेर भए पनि स्वास्थ्यकर्मीले प्रसूति गराए”, उहाँले भन्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीले एक वर्ष पहिले रगतदाताको नाम, ठेगाना, रगत समूह र सम्पर्क नम्बर सहितको विवरण राख्ने र जिल्ला अस्पतालमा कसैलाई रगत आवश्यक परेमा बिरामीलाई चाहिने समूहको व्यक्तिलाई सम्पर्क गराई रगत उपलब्ध गराउने गरेपनि हाल यो सेवा बन्द हँुदा अस्पताललाई समस्या हुने गरेको हो भने बिरामीका आफन्तले रगत खोज्न बजार चहार्नु परिरहेको छ ।
– नृपेन्द्रबहादुर मल्ल