८ बैशाख २०८१, शनिबार
Follow Us

मिडियाले जहिले भ्रम फैलाउने ? कसरी हुन्छ चुनाव हेरौं न : यादव

नेपालब्रिटेन डट कम्
१२ माघ २०७३, बुधबार ०६:५८

शिवजी यादव, प्रमुख सचेतक, संघीय समाजवादी फोरम
स्थानीय तहको निर्वाचनका विषयमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश केन्द्रितहरुलाई छलफलका लागि बालुवाटारमा बोलाउनु भएको थियो । उक्त छलफलमा प्रधानमन्त्री बाहिर भाषण गरेजस्तो स्थानीय तहको निर्वाचन त्यत्ति सजिलो नहुने संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले बताएका छन् । पहिले मधेशी मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेर मात्र निर्वाचनको वातावरण बन्ने यादवले बताए । छलफलमा के कुरा उठ्यो भन्ने विषयमा यादवसँग गरिएको कुराकानी यस्तो छ–

० सत्तारुढ दलसँग के विषयमा छलफल भयो ?
– प्रधानमन्त्रीले मोर्चाका सबै शीर्ष नेताहरुलाई अपरान्ह ४ बजे बोलाउनु भएको थियो, छलफलमा कांगे्रस र माओवादी नेताहरु हुनुहुन्थ्यो । प्रधानमन्त्रीले विगत केही दिनदेखि यो मितिमा निर्वाचन गर्छु भनेर महत्व दिएर अभिव्यक्ति दिँदै आउनुभएको थियो, हामीमा एक किसिमको शंका उत्पन्न भएको थियो । यी विषयमा उहाँले प्रष्ट पार्नुभयो । यो परिस्थितिमा कसरी अगाडि बढ्न सकिन्छ भनेर सरसल्लाह गर्न छलफल गर्न बैठक बोलाउनु भएको थियो ।

० प्रधानमन्त्रीको भनाइ र गराई मिल्यो ?
– उहाँको भनाइ र गराइ बेग्लै म भन्दिनँ । माघ ७ गतेभित्र तीनवटै निर्वाचन गरी संविधान कार्यान्वयन हुँदैन, त्यतातिर गम्भीर भएको पाइयो । हामीसँग ३ बुँदालाई कसरी हुन्छ लागू गर्दै संविधान कार्यान्वनमा प्रधानमन्त्री गम्भीर भएको पाइयो । एउटा चुनाव जेठभित्र गर्न सकियो भने अर्को मंसीर र माघभित्र तीनवटै निर्वाचन गर्न सकिन्छ भन्ने अभिप्रायले उहाँ मेहनत गरिराख्नु भएको हो, तर संसदमा जुन जटिलता उत्पन्न भएको छ, त्यसपछिको वातावरणले अलिकति होमवर्क गरेर राम्ररी लगियो भने माघ ७ भित्र तीनवटै निर्वाचन गर्न सकिन्छ भन्ने आँट आएर उहाँले हौसियर कुरा गर्नुभयो । छलफल नभएर एउटा भ्रम उत्पन्न गराएको थियो । त्यो सबै भ्रम चिर्ने काम हिजोको बैठकले गरेको छ । हामीसँग भएको सहमति लागू नभइ उहाँले कसरी चुनाव गर्न सक्नुहुन्छ ? उहाँले स्थानीय तहको निर्वाचन भन्दै हुनुहुन्छ, स्थानीय तहको संरचनाले आधिकारिकता पाइनसकेको, बालाराम पौडेलको रिर्पोट स्थानीय मन्त्रालयसम्म मात्र भएको, सरकारले दिएको म्यान्डेडअनुसार स्थानीय मन्त्रालयले परिमार्जन गरेर ल्याउनुहोस भनेर प्रधानमन्त्रीले दिनुभएको निर्देशनअनुसार कार्यान्वयन नभइकन कसरी चुनाव घोषणा हुन्छ ? एकातिर प्राविधिक रुपमा पनि गर्न नसकिने अवस्था छ भनेदेखि ऐन नै पास नभइ निर्वाचन कसरी घोषणा हुन्छ ? यी सबै काम छिटोभन्दा छिटो गराउन प्रधानमन्त्री लाग्नुभएको छ । जुन तहको निर्वाचन गर्ने भनिएको छ, त्यो तह नै निर्धारण नभइ अथवा सबैलाई स्वीकार्य नभइ चुनाव कसरी हुन सक्छ । यी सबै कुरा हामीले राखेपछि उहाँ कन्भिन्स हुनुभयो । मोर्चासँग भएको ३ बुँदे सहमति कार्यान्वयन नगरी अगाडि बढ्दिन विश्वास गर्नुहोस् भनेर प्रधानमन्त्रीले भन्नुभयो । हामीले पनि चुनाव छिटोभन्दा छिटो होस् भनेर चाहेका छौं ।

० प्रधानमन्त्रीको कुरा सुनेर सकरात्मक भएर आउनुभयो ?
– तपाईंले कुरो बुझ्नुभएन । प्रधानमन्त्रीले बाहिर दिएको भाषण जुन छ, सबै कुरो क्लियर नआउँदा मानिसहरु हौसिएका थिए । तपाईं केको चुनाव गर्नु हुन्छ ? यो गम्भीरता बुझ्नु भएको छ कि छैन ? सरकारले गर्न सक्छ ? नैतिकता छ ? हावामा चुनाव घोषणा गर्न सक्छ ? भनेर हामीले उहाँलाई सोधेका थियौं । उहाँले गम्भीरता बुझेको छु, ०६३ सालमा गिरिजाबाबुले चुनाव घोषणा गरेर गर्न सक्नुभएन । म त्यस्तो हुन दिन्न । जुन चुनाव हुन सक्दैन, म घोषणौ गर्दिन । गर्न सकिने चुनावको मात्र घोषणा गर्छु । तपाईंहरु बिना चुनाव हुँदैन प्रधानमन्त्रीले भनेपछि यसलाई कसरी बुझ्ने ?

० सहमति गरेर आउनुहुन्छ, त्यही कुरा दोहोरिन्छ ?
– तपाईंहरु मिडियाबाटै भ्रामक कुरा भन्नुहुन्छ । जनता आन्दोलित भएका बेला हामी विरोधमा हुने ? प्रधानमन्त्रीको कुरो सुनेर संशकित हुने हुन्छ ?

० मिडियाले गर्नुपर्ने के ?
– भ्रामक प्रचार भनेको सारा नेपाल तरंगित हुन्छ भन्नुहुन्छ । त्यो होइन, मधेश केन्द्रित र त्योसँग सम्बन्धित आम जनसमुदाय बुझेका छन्, हाम्रो माग नै सम्बोधन नभइ चुनाव हुँदैन । तपाईंहरु एकपक्षीय कुरा भन्नुहुन्छ । हिजोको बैठकको निष्कर्ष भनेको हाम्रो समस्या समाधान नगरिकन, कुनै हालतमा चुनावको मिति घोषणा हुँदैन ।

० तपाईंहरुसँग सहमति कहिले हुने ?
– चुनाव गर्न खोज्ने हो भनेदेखि चुनाव गराउने खोज्ने मितिभन्दा १२० दिन पहिला सहमति हुन्छ ।

० सबैको आआफ्नै अडान, को कता ? को कता ? कसैले थाहा नपाउने ?
– कसरी थाहा नहुने ? हाम्रो अडानको मात्र किन कुरा गर्नुहुन्छ ? बालानन्द पौडेलको स्थानीय तह पुनर्संरचनाको कुरा जुन छ नि, त्यो राज्यले स्वीकार गरिसकेको छ ।

० तपाईंहरुले सहमति नदिएसम्म कसरी राज्यले ग्रहण गर्छ ?
– हाम्रो सहमति बिना ३ जनाले चुनाव गर्छु भनेर घोषणा गरिसके भन्नुभएको होइन । त्यो केको चुनाव गर्छु भनेर घोषणा गरे ? तपाईंहरु यो कुरो चिरफार गर्न सक्नुहुन्न ? चुनाव गर्छु भन्नेलाई कुन चुनाव गर्नु हुन्छ भनेर प्रश्न गर्न सक्नु हुन्न ? यस्तो हावा कुरो गरेर हुन्छ ?

० हामीले पटक पटक सोधेका छौ ?
– स्थानीय तहको चुनाव गर्ने हो भने तहै नबनेको ठाउँमा कसरी निर्वाचन हुन्छ भनेर किन सोध्नु हुन्न ? स्थानीय तह हामीले त मानेनौं नै सरकार आफैले पनि मानेको छैन । जेको निर्वाचन गर्न खोजेको हो, त्यो पहिले जन्मिनु प¥यो नि ।