१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने २५ सय कर्मचारी सरुवा

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार ०६:२२

काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध पुरु-याएको भन्दै नेपाल विद्युत प्राधिकरणअन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीको एकै पटक सरुवा गरिएको छ । प्राधिकरणले काठमाडौं क्षेत्रीय कार्यालयमा ७८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३२९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २९२ कर्मचारीलाई सरुवा गरेको हो । यसैगरी बुटवल क्षेत्रीय कार्यालयमा २६५, पोखरा क्षेत्रीय कार्यालयमा १६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ कर्मचारी सरुवा भएका छन् । उर्जामन्त्री जनार्दन शर्माले सरुवा पहिलो चरणको रहेको र आवश्यकताअनुसार पुनः गरिने बताएका छन् । उता, सरुवाविरुद्ध कर्मचारी ट्रेड युनियनले आन्दोलन थालेका छन् । उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गरेका हुन् । २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई नियमअनुसार सरुवा गरिएको भन्दै मन्त्री शर्माले कर्मचारीको आन्दोलनलाई विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएपछिको प्रतिक्रियाको संज्ञा दिएका छन् । करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले केही दिन अघि प्राधिकरणका कर्मचारी र केही व्यापारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई उन्मुक्ति दिन दबाव दिएपछि कर्मचारीकै सरुवा गरिएको बताइएको छ ।