१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विधेयकमाथिको संशोधन अध्ययन गर्न उपसमिति गठन

नेपालब्रिटेन डट कम्
१३ माघ २०७३, बिहीबार १३:३०

काठमाडौं । संसद्मा प्रस्तुत भएको ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक–२०७२’ मा परेको संशोधनका सम्बन्धमा अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
आज बसेको समितिको बैठकले सो विधेयकमाथि परेका ३३१ वटा संशोधनको अध्ययन गरी छिट्टै समितिमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । बैठकमा संशोधन दर्ता गराउने सांसदहरुले आफ्नो भनाइ राख्दै विधेयकका कमजोरी सच्याउनुपर्नेमा जोड दिनुभयो । सांसद पेम्बा लामाले यो विधेयक विशुद्ध रुपमा योगदानमा आधारित विधेयकका रुपमा लैजानुपर्ने र अन्य सामाजिक संरक्षणका लागि छुट्टै विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद विनोद श्रेष्ठले सामाजिक सुरक्षा विधेयक र श्रम विधेयक एकैसाथ प्रस्तुत गरिनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले सामाजिक सुरक्षा कोषमार्फत शिक्षाका लागि रकम दिँदा सरकारी वा सार्वजनिक विद्यालयका विद्यार्थीले मात्रै सो रकम पाउने शब्द थपिनुपर्ने बताउनुभयो ।
यसअघि गत माघ ७ गते बसको समितिको बैठकले संसद्मा प्रस्तुत भएको ‘श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७२’ माथि परेका ५६० वटा संशोधनमाथि अध्ययन गर्नसमेत सभापति साहकै संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । सोही समितिले नै सामाजिक सुरक्षा विधेयकका समेत अध्ययन गर्ने भएको हो । समितिका सदस्यमा पुस्कर आचार्य, भरत खड्का, चूडामणि जङ्गली, प्रभादेवी बज्राचार्य, अशोककुमार मण्डल र राधादेवी तिमिल्सिनालगायत हुनुहुन्छ ।