१३ बैशाख २०८१, बिहीबार
Follow Us

अलपत्र तीन नेपालीको उद्धार

नेपालब्रिटेन डट कम्
१४ माघ २०७३, शुक्रबार ०६:३५

काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कात्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।
काठमाडौँको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनीलाई प्रतिव्यक्ति रु दुई लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए । तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्धारका लागि अनुरोध गरेका थिए ।
पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कूटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेका नेपाली दूतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका हुन् । नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।