– कुमार पन्त ।

गैरआवासीय नेपाली (एनआरएन)हरूको विश्वव्यापी छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को क्षेत्रीय सम्मेलन अमेरिकामा सम्पन्न गरेका छौँ । यसअघि विभिन्न क्षेत्रका क्षेत्रीय बैठकहरु सम्पन्न ग-यौँ । क्षेत्रीय सम्मेलनमा हामीले एनआरएनएका सांगठनिक, संस्थागत तथा व्यावहारिक समस्यामाथि गहन छलफल गरेका छौँ । सन् २०२० सम्म र त्यस पछाडि एनआरएन अभियान कस्तो हुनुपर्छ र त्यसको सांगठनिक संरचना कस्तो हुनुपर्छ भनेरसमेत बहस यहीँबाट सुरु गरेका छौँ । हाम्रा यी पछिल्ला भेला, बैठक, छलफल र सम्मेलनहरुमा एउटा समान विचार एवम् भावना सबैतिर पाइएको छ । त्यो हो, अब नेपाल नै समृद्ध हुनुपर्छ र नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ । अनि त्यसका निम्ति एनारएनहरू तयार छन् । भएका छैनन् भने पनि थप संगठित रुपमा तयार हुनुपर्छ ।

सन् २००३ अगस्टमा लण्डनमा भएको बैठकपछि औपचारिक सूत्रमा बाँधिएका विदेशमा बस्ने हामी नेपालीहरुको एकता यात्राले १३ वर्ष पार गरेको छ । यो अवधिमा एनआरएनए सञ्जालभित्र विश्वका विभिन्न ७५ मुलुकमा बसोबास गर्ने नेपाली औपचारिक रुपमा अटाएका छन् । सन् २००३ मा स्थापित एनआरएनए द्रूत गतिमा फैलिँदै आज ७५ देशमा राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरू बनाउन सफल भएको छ । यो विस्तार नै पनि सफलताको एउटा महत्वपूर्ण सूचक हो ।

बेलायत यसै पनि नेपालीको विशेष नाता भएको देश हो । पहिलोपल्ट गोर्खा सैनिकको रुपमा रुपमा पाइला टेकेको यो ठाउँबाटै आज विश्वव्यापी संगठन भएको एनआरएनएको स्थापना भएको भन्न पाउँदा बेलायतवासी नेपालीहरुले झनै गर्व गर्नुपर्छ । र, अन्य सूचकहरुमा पनि बेलायतको एनसीसी यस्तो नमूना बन्न सक्नुपर्छ कि अरु ७४ एनसीसीहरुले अनुशरण गर्न सकून् । यस्ता सूचक जसले अन्य संगठनलाई मार्गदर्शन गर्न, एकताको सन्देश दिन, स्वदेशमा विकास गर्न, परोपकारी गतिविधि अघि बढाउन र एनआरएनए साँच्चै सबै नेपालीको साझा चौतारी हो भन्ने मान्यता स्थापित गर्ने होऊन् ।

हाम्रो प्रमुख लक्ष्य भनेको नेपालको समृद्धि र विकासका निम्ति एनआरएनहरूलाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउने भन्ने हो । नेपालबाट ठूलो संख्यामा विदेशिएको दक्ष जनशक्तिभित्र आफूले आर्जेको नयाँ ज्ञान, सीप, अनुभव र आर्थिक सम्पन्नतालाई स्वदेशको समुन्नतिका लागि परिचालन गर्ने प्रगाढ चाहना रहेको हुन्छ भन्ने कुराको पुष्टि एनआरएनएको विगत १३ वर्षको अनुभवले पुष्टि गरिसकेको छ । जुन अनुभव अग्रज पुस्ताका अगुवा एनआरएन अभियन्ताहरुले हामीलाई सिकाउनुभयो । हामीले दोस्रो, तेस्रो पुस्तालाई स्वदेशसँग परिचित गराउँदै र सम्पर्क स्थापित गर्दै जानु छ । अनि सबै क्षेत्र, व्यवसाय र पेसाका एनआरएनहरुलाई भन्नु छ, पिछडिएको अवस्थामा रहेको नेपालीको जीवनस्तरमा सुधार ल्याउन ढिलो भइसकेको छ ।

हो, व्यक्तिगत रूपमा धेरै एनआरएनले नेपालमा लगानी गरेका पनि छौँ । लगानी गर्दा लगानीको सुरक्षाको प्रश्न मूल रुपमा उठ्ने गर्दछ । शान्तिसुरक्षाको स्थिति, प्रशासन यन्त्रमाथिको बढी निर्भरता, स्थायी सरकार नभएको अवस्था आदिका कारण लगानी डुब्ने हो कि भन्ने चिन्ता एनआरएनहरुमा व्याप्त छ । देशको समग्र समृद्धिको लागि राजनीतिक स्थायित्व अपरिहार्य छ । तर, आर्थिक विकासको लागि राजनीतिक स्थायित्व पर्खिएर मात्रै हुँदैन भन्ने उदाहरण हामी बन्नैपर्छ र बन्दै आएका पनि छौं ।

२०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि देशले नयाँ बाटो पक्कै लिएको छ । अहिले संविधान कार्यान्वयनको क्रममा केही अप्ठ्यारो देखिन्छ । तर, यो पनि केही समयमा समाधान पक्कै होला । हामीले फर्किने भनेको आफैतर्फ हो । किनभने, पहिला स्थिरता होस् वा वातावरण बनोस्, अनि मात्र हामी अघि सरौँला भन्ने अवस्था छैन । नेपालमा सब कुरा ठीकठाक भए त हाम्रो नै किन आवश्यकता पर्छ र ? एनआरएनहरुकै लगानी पनि किन चाहिन्छ र ? सबै कुरा ठीकठाक भएमा अरु नै बहुराष्ट्रिय कम्पनी तथा लगानीकर्ताहरु खोजीखोजी जान सक्छन् । त्यसकारण हामीले अनुकूल वातावरण निर्माणका लागि पहल गर्दै लगानी, सम्बन्ध र सम्पर्क विस्तार गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो । किनभने, हामीसँग नेपाली हुनुको भावना छ । मातृभूमिप्रतिको प्रेम छ । र, नेपालीजनको उन्नति तथा प्रगतिले नै हाम्रो शिर संसारमा उँचो हुन्छ भन्ने कुराको बोध छ ।
हामीलाई नेपालको माटोले चिन्दछ । नेपालको हावापानी, भूगोल, भाषा, संस्कृतिले हामीलाई अपनत्व दर्शाउँछ । त्यसकारण हामी तमाम प्रतिकूलताका बीच पनि नेपालको उन्नति र समृद्धिका साझेदार बन्न सक्छौँ । प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्न सक्छौँ । त्यही भएर नै अन्य विदेशी लगानीकर्ताभन्दा हामी एनआरएनहरु भिन्न छौँ ।

नेपाल र नेपालीका लागि विशेष छौँ । हाम्रा लागि पनि नेपाल र नेपाली विशेष हुन्, छन् पनि । त्यसैले हामी अब के गर्न सक्छौँ ? गर्न सक्ने जतिको सूची बनाउने र सामूहिक रुपमा लाग्ने बेला हो । यो प्रतिबद्धता नहुँदासम्म हामीले जतिसुकै भावनाका कुरा गरे पनि स्वदेशमा लगानी गर्न, स्वेदशको उत्पादन वृद्धि गर्न र स्वदेशमै रोजगारी बढाउन हामीले चाल्न खोजेका कदम फेरि धर्मराउनेछन् ।

नेपालमा लगानीको वातावरण निर्माण गर्ने र सकेसम्म धेरै लगानी भित्र्याउने उद्देश्यले विशेष कार्ययोजना पनि बनाएका थियौँ । दुर्भाग्यवश ०७२ वैशाख १२ को भूकम्पले गर्दा हाम्रा धेरै योजना पछाडि धकेलिए । फेरि हामीले यस्ता योजनालाई द्रूत गतिका साथ अगाडि बढाउनु आवश्यक भएको छ । नेपाल सरकारसँग मिलेर र साना लगानीकर्ता समेतलाई साथ लिएर नेपालमा लगानी बढाउनु नै अबको हाम्रो अर्जुनदृष्टि बन्नुपर्छ । र, लगानी भन्नेबित्तिकै आर्थिक लगानी मात्रै सोचेर हामी बस्नुहुँदैन । ज्ञान, प्रविधि र अनुभवको हस्तान्तरण पनि लगानीको महत्वपूर्ण पक्ष हो । हामीमा भएको ज्ञान र बुद्धि, विदेशमा सिकेको सीपलाई स्वदेशको हितमा कसरी उपयोग गर्ने भन्नेतर्फ पनि हाम्रो शक्ति केन्द्रित हुनुपर्छ ।

विदेशमा कमाएर स्वदेशको उन्नतिमा लगाउने, स्वदेशको अर्थतन्त्रलाई चलायमान राखिरहन योगदान गर्ने ठूलो युवा शक्ति अहिले वैदेशिक रोजगारीमा छ । त्यसक्रममा विभिन्न परिवेशमा अंगभग हुने र मृत्यु हुनेको संख्या बढेको छ । अझ खाडी र मलेसियामा संवेदनशील स्थिति छ । सुरक्षित वैदेशिक रोजगारीका साथै संकटको अवस्थामा उद्दार र राहतका काम गर्नु पनि हाम्रो कर्तव्य हुन आउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीकै हित एवं आडभरोसाका निम्ति कल्याणकारी कोष स्थापना गरिएको छ । यसलाई अक्षय कोषका रुपमा स्थापना गरी ब्याजमार्फत् आएको रकमबाट पीडितलाई सहयोग गर्ने सोच राखिएको छ ।

अहिले यसमा हामी सुरुआती चरणमै छौँ । केही रकम संकलन पनि भएको छ । यो पुनीत कार्यमा बढीभन्दा बढी एनआरएन मित्रहरुको सहभागिता, योगदान र प्रचारप्रसारको अपेक्षा गर्नु जायज नै हुनेछ । साथै, वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी रेमिट्यान्सको ठूलो हिस्सा उपभोग र अनुत्पादक क्षेत्रमै बढी खर्च भयो, त्यसले मुलुकको दीगो र उत्पादनमुखी अर्थतन्त्रमा योगदान गर्न सकेन भन्ने यथार्थलाई मनन गर्दै त्यसको निश्चित अंश सञ्चयकोषमा जम्मा गर्ने सोच कर्मचारी सञ्चय कोष र एनआरएनएले संयुक्त रुपमा अघि सारेको छ । विदेशमा श्रम गरेर आर्जेको रकम सुरक्षित गरिदिने, निश्चित प्रतिफल पनि दिने, सामाजिक सुरक्षा र सहुलियतका कार्य अघि बढाउने र राष्ट्रिय गौरवका आयोजनामा लगानी गरी मुलुकलाई पूर्वाधारसम्पन्न बनाउने यस योजनामा बढीभन्दा बढी नेपालीको सहभागिता आवश्यक छ ।

केही वर्षयता एनआरएनए संकटको साथी भएको छ, स्वदेश र स्वदेशवासीका निम्ति । मुलुकमा महाविनाशकारी भूकम्प जाँदा उद्दार तथा राहतका निम्ति सरकारको अनुमति पाएकै दिन हामी अति प्रभावित क्षेत्रमा पुगेका थियौँ । अहिले हामी गोरखाको दुर्गम बस्ती एवं भूकम्पबाट अतिप्रभावित गाउँ लाप्राकबाट पुनःनिर्माणसम्बन्धी नमूना परियोजनाको निर्माणाधीन चरणमा पुगेका छौँ । अध्यक्ष शेष घले त्यहीँ गएर बस्नु भएको छ भने हामी पनि त्यहीँ बसेर त्यस काममा लाग्दै छौँ । एनआरएनए भनेको यही हो भनेर स्थापित गर्ने मौका पनि हो यो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भूकम्प आउनेबित्तिकै नेपालमा एक हजार घर पुनःनिर्माण गर्ने घोषणा गरेको थियो । त्यही घोषणाअनुरुप हामीले यो परियोजना अघि सारेका हौँ । यसमा बेलायतमा रहनुभएका एनआरएनहरुको सहभागिताको लागि यहाँको एनसीसीले खेलेको भूमिका र देखाएको सक्रियता उत्तिकै सम्मानयोग्य छ ।

नेपालविरुद्ध नाकाबन्दी हुँदा विश्वव्यापी रुपमा प्रदर्शन गरी नाकाबन्दी अन्त्यका लागि दबाब सिर्जना गर्ने काममा समेत एनआरएनहरुको ऐतिहासिक एकता प्रदर्शन भयो । यसरी नेपालमा परिआउँदा विश्वभर छरिएका नेपालीले जहिलेसुकै साथ दिन्छन् भन्ने कुराको दृष्टान्तसमेत प्रस्तुत गर्न सक्यौँ । त्यसमा बेलायत सधैँ अग्रभागमा रहेको छ । एनआरएनएको स्थापना यहीँबाट भएकोले पनि यसको भूमिका सबैभन्दा अगाडि हुने गर्छ, हुनुपर्छ ।

नेपालको समृद्धिको अर्को महत्वपूर्ण पक्ष पर्यटन हो । पर्यटनका दुईवटा पक्ष छन् । एक, पूर्वाधारमा लगानी र दुई, पर्यटक आकर्षण । हामीले लगानी गर्नुका साथसाथै नेपालको पर्यटन प्रवद्र्धनका निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ र खेल्दै आएका पनि छौँ । नेपाली धेरै भएको ठाउँमा, नेपाल जान इच्छुकहरू धेरै भएका ठाउँमा ‘नेपाल डे’ भनेर फेस्टिभल गर्छौँ । नेपाली कला, संस्कृति, झाँकी, तस्बिरमार्फत् नेपालबारे जानकारी गराउँछौँ । विभिन्न माध्यमबाट नेपाल चिनाउने प्रयत्न गर्दै आएका छौँ । यस्ता गतिविधिलाई अझ विस्तारित गरी लगानीका निम्ति समेत हामीले थप अग्रसर हुनुपर्नेछ ।

२०७२ असोज ३ गते संविधानसभाबाट जारी संविधानको धारा १४ मा “गैरअवासीय नेपाली नागरिकता” को व्यवस्था गरेको छ । यो ऐतिहासिक उपलब्धिको रुपमा हामीले बुझेका छौँ तर यो नागरिकताको विषय भूतपूर्व गोर्खासँग प्रत्यक्ष जोडिएको विषय पनि हो । त्यसैले संविधानमा जे उल्लेख भएको छ त्यो मेरो व्यक्तिगत विचारमा पूर्ण छैन । तर, कानून र ऐनमा सीमित हामी एनआरएनहरुलाई संविधानले चिन्ने अवस्थामा पुगेकोमा भने पक्कै खुसी हुनुपर्छ । यो धेरै परिश्रमबाट पाएको उपलब्धि हो । तर, थप र पूर्ण नागरिकताको लागि हामी अझै लाग्नुपर्नेछ । यसमा ‘सामाजिक, सांस्कृति र आर्थिक अधिकार’ संघीय कानुनमा उल्लेख भएअनुसार उपभोग गर्न पाइने उल्लेख छ । त्यसकारण हामीले ऐन निर्माण गर्दा उत्तिकै ध्यान दिनुपर्नेछ । कानुनी व्यवस्था कस्तो बन्छ भन्ने कुरा अझै पनि हामी सचेत हुनुपर्ने पक्ष छ । त्यसका निम्ति हामी सरकारसँग निरन्तर सम्पर्कमा छौँ ।
समग्रमा हामीसँग भएको प्राविधिक दक्षता, व्यावसायिक अनुभव र आर्थिक सम्पन्नताको प्रयोग केही मात्रामा भए पनि देखिने गरी नै भएको छ । त्यसलाई थप बढाउन हामी लाग्नैपर्छ । राज्यले हामीसँग गरेको अपेक्षा पनि यही हो । सीप र पुँजीयुक्त, सचेत र संगठित गैरआवासीय नेपालीको सहभागितामा स्वदेशको समुन्नति सम्भव छ ।

जसरी भारतलाई भारत बनाउन गैरआवासीय भारतीयहरुले भूमिका खेले, त्यसैगरी विश्वका विभिन्न सहरमा सफलतातर्फ लम्किएका तमाम एनआरएनलाई अलिकति पनि विचलित नहुने अवस्था सिर्जना गरेर लक्ष्यमा पुग्ने वातावरण बनाउनेतर्फ हाम्रो पुस्ताले पहल गर्नुपर्नेछ । त्यसका लागि फरकफरक क्षेत्रमा आफ्नो पहिचान बनाएका, प्रतिभा देखाएका र योग्यता प्रमाणित गरेका युवाले नै अग्रसरता लिनुपर्नेछ, लिनेछौँ । हिजोको भन्दा उन्नत अवस्थाका लागि हाम्रो तन, मन र धन केन्द्रित गर्नुपर्छ, गर्नेछौँ । फेरि पनि भन्नैपर्ने हुन्छ, हामीलाई नेपाल राज्यले दिनुपर्ने धेरै कुरा दिइसकेको छ । अब संघलाई थप व्यवस्थित र बढीभन्दा बढीलाई समेटेर साझा चौतारी तयार गरिदिने पालो हाम्रो हो ।

व्यावसायिक तथा सामाजिक उद्देश्यमा फड्को मार्न चाहने नेपालीहरूका लागि एनआरएनए एउटा आकर्षक र सफल चौतारीका रूपमा स्थापित हुन सकेको पनि छ । अब पहिलो, दोस्रो हुँदै तेस्रो पुस्ताको बीचमा पनि यसको उपस्थिति गराउनु त आवश्यक छ नै, सँगसँगै सबै तह, क्षेत्र र व्यवसायका एनआरएनहरुको समेत अपनत्वका लागि थप विश्वास दिलाउनु छ । संगठनको हिसाबले ७५ देशमा पुग्यौँ तर सँगसगै ती देशमा बस्ने कति नेपालीहरुलाई संगठित गर्न सक्यौँ ? उनीहरुको भरोसाको केन्द्र बन्न सक्यौँ कि सकेनौँ ? र, हाम्रो संगठनको आकार र विस्तारको अनुपातमा स्वदेशको उन्नतिका सबै क्षेत्रमा ज्ञान, सीप, अनुभव र धन दिन सक्यौँ कि सकेनौँ ? त्यो नै महत्वपूर्ण सवाल हो । अब एनआरए, यसको नेतृत्व एवं सम्पूर्ण सदस्यको मूल्यांकन गर्दा यिनै सूचकमा गरिनुपर्दछ । बेलायतको एनसीसी र यहाँका सम्पूर्ण एनआरएन मित्रहरुले पनि यही रुपमा मूल्यांकन गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।

(लेखक गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष हुन्)