६ बैशाख २०८१, बिहीबार
Follow Us

के नेताहरूले व्यवसाय गर्नुहुन्न ?

नेपालब्रिटेन डट कम्
१४ माघ २०७३, शुक्रबार १०:०७

ऋतु ग्याम्दान, नेपाल तरुण दल, रसुवा
तरुण दल नेतृ ऋतु ग्याम्दान पछिल्लो आधा दशकदेखि पर्यटन क्षेत्रमा पनि क्रियाशील छिन् । नेपालको समृद्धिको प्रमुख अनि महत्वपूर्ण आधार मानिने पर्यटनको विकासका लागि राज्यले जति लगानी गर्नुपर्ने हो, त्यो मात्रामा गर्न नसकेको उनको ठम्याइँ छ । निजी क्षेत्रको अधिकतम प्रयासका कारण नेपालको पर्यटन क्षेत्र यहाँसम्म आइपुगेको बताउने उनी राज्यको लगानी आवश्यक रहेको बताउँछिन् । उनै ऋतुसँग खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश ः

० कहिलेदेखि पर्यटन क्षेत्रमा लाग्नुभएको हो ?
– सात वर्ष भयो क्षेत्रमा लागेको । नेपाल फिमेल गाइड प्रा.लि भन्ने संस्थामार्फत काम गरिरहेकी छु ।

० यो संस्थाले के गर्छ ?
– हामीले पदयात्रा गर्न चाहने पर्यटकलाई यात्राका क्रममा गाइड गर्ने हो ।

० पर्यटक विदेशी हुन्छन् कि नेपाली ?
– हामीले अहिलेसम्म विदेशी पर्यटकलाई नै गाइड गरिरहेका छौं ।

० नेपालीलाई किन नगर्नु भएको नि ?
– प्रायःजसो नेपालीले पदयात्राका क्रममा गाइड कमै राख्छन् । नेपालीलाई आफूले घुम्न जान चाहेको ठाउँको भूगोलबारे राम्रैसँग थाहा हुन्छ । त्यसैले हामीले नेपालीसँग काम गर्न नचाहेर भन्दा पनि नेपालीहरू हामीकहाँ नआएकाले हो ।

० पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
– भूकम्पअघि एकदम राम्रो थियो । पर्यटकहरू नेपाली आउने क्रम वर्षेनी बढ्दो थियो, तर भूकम्पले निकै क्षति पु¥यायो, विशेष गरी हिमाली क्षेत्रहरूमा । धेरै ठाउँमा पदमार्ग भत्किए । नेपालमा भूकम्पले ठूलो जनधनको क्षति भयो भन्ने खबरले पनि पर्यटकहरू कम आएका हुन् । तर अहिले फेरि पुरानै स्थितितर्फ पर्यटन क्षेत्र गइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसारको कमी छ । निजी क्षेत्रको प्रयासले मात्र यो क्षेत्र माथि जान सक्दैन । राज्य नै जोडतोडका साथ लाग्नुपर्छ ।

० तपाईहरूले पदयात्रामा लैजाने प्रमुख गन्तव्य कहाँ हो ?
– हामीले अन्नपूर्ण बेसक्याम्प, सगरमाथा बेसक्याम्प, लाङटाङलगायतका विशेष गरी हिमाली क्षेत्रहरू नै हुन्छन् ।

० कसरी यो क्षेत्रमा आउनुभयो त ?
– मैले होटल म्यानेजमेन्ट पढेकी हुँ । त्यतिबेला ट्राभल एन्ड टुरिजम भन्ने विषय पनि पढ्नुपथ्र्याे । त्यसले गर्दा पनि मलाई यो विषयप्रति आकर्षण बढ्यो । अर्काे कुरा, मेरो घर नै हिमाली जिल्लामा । लाङटाङको फेदमा बस्ती । सानैदेखि गोराहरू हेर्दै हुर्कियौं । त्यसले पनि यो क्षेत्रमा मलाई झनै आकर्षित ग¥यो ।

० महिला ट्रेकिङ गाइडहरूको संख्या कति छ ?
– ठ्याक्कै संख्या थाहा भएन । काठमाडौंमा मात्र नभएर पोखरामा पनि महिला गाइडहरू छन् । उनीहरूसमेत गणना गर्ने हो भने तीन–चार सयजना छन् होला ।

० महिलालाई कतिको सजिलो हुँदो रहेछ त ?
– गाह्रो त भइहाल्छ नि । पदयात्रा भनेको एक डेढ घन्टाको कुरा होइन । कुनै त दुई हप्तासम्मको पनि हुन्छ । यस्तो अवस्थामा शारीरिक थकान त हुन्छ नै । फेरि महिलालाई महिनावारीको समयमा त निकै पीडा हुन्छ । तर पनि पछिल्लो समय महिला गाइडहरूको संख्या बढ्दो छ । यो खुसीको कुरा हो ।

० कमाई कत्तिको हुन्छ ?
– ठिकै छ । अरु पेसा जस्तो यसको निश्चित अफिस टाइम भन्ने हुँदैन । अर्काे कुरा यो पेसा सिजनल हुन्छ । ६ महिना राम्रो हुन्छ भने ६ महिना त खाली बस्नुपर्ने हुन्छ । समग्रमा राम्रै छ । यो पेसामा लागिसकेपछि विकल्प सोच्नुपर्दैन ।

० भनेपछि राम्रै भन्नुप-यो ?
– ठीकै छ । म सन्तुष्ट छु ।

० अन्य केही संस्थामा पनि आबद्ध हुनुहुन्छ कि ?
– नेपाल तरुण दलमा आबद्ध छु । तरुण दल रसुवाको महिला केन्द्रीय पार्षद पनि हो ।

० किन कांग्रेसमा लाग्नु भएको ?
– मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक त होइन, तर कांग्रेससँग नजिक हुनुहुन्छ । म सानैदेखि राजनीतिक पुस्तक पढ्थें । धेरै नेताले भाषण गर्दा बीपी, गणेशमान, सुवर्णशमशेर, किसुनजीलगायतको नाम लिइराख्थे । मलाई यी नेताहरूबारे जान्न मन लाग्थ्यो । अनि पुस्तक पढ्न थालें । कांग्रेस नभएको भए यो देशमा प्रजातन्त्र नै नआउने रहेछ भन्ने कुरा मेरो दिमागमा बस्यो । बीपी कोइरालाको आत्मवृत्तान्त त मैले तीन पटक पढें ।

० तरुण दलको नेतृत्व सर्वसम्मत रूपमा चयन भयो । तर, केन्द्रीय कार्यसमिति आउनै बाँकी छ, तपाईको पनि आकांक्षा थियो कि महाधिवेशनमा ?
– म केन्द्रीय सदस्यमा उठ्ने तयारीमा थिएँ । त्यसका लागि विभिन्न जिल्ला गएँ । तयारी राम्रै गरेकी थिएँ । तर दुर्भाग्य भन्ने कि के भन्ने निर्वाचन हुन सकेन । तर पनि पार्टीका शीर्ष नेताहरू बसेर गरेको निर्णय हामी सबैले स्वीकार गर्नैपर्छ ।

० कार्यसमितिमा आउन खोज्नु भएको हो ?
– महाधिवेशनमै चुनाव लड्ने तयारी गरिसकेकाले पनि केन्द्रीय सदस्य बन्ने चाहना अहिले पनि छ । हेरौं के हुन्छ । कार्यसमिति नै कहिले आउने हो ? टुंगो छैन ।

० राजनीति र व्यवसाय सँगसँगै कसरी लैजानुहुन्छ त ?
– मलाई धेरैले यो प्रश्न सोध्छन्, तर मलाई अचम्म के लाग्छ भने के नेताहरूले व्यवसाय गर्नुहुन्न र ? कुनै व्यवसाय वा पेसा नगरी नेताहरूको घरखर्च कसरी चल्छ ? राजनीति भनेको २४ घन्टा दौडधूप गर्ने पनि त होइनन् नि । काम केही नगर्ने अनि राजनीति मात्र गर्छु भन्नेहरूले नै हो भ्रष्टाचार गर्ने । यहाँ कति नेताहरूको पैतृक सम्पत्ति छ र ताकि केही व्यबसाय नगरी उहाँहरूको जिन्दगी चल्छ ?