१९ बैशाख २०८१, बुधबार
Follow Us

लाप्राकवासीलाई एनआरएनको उदाहरणीय सहयोग : सीईओ पोखरेल

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार ०५:३०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले लाप्राकमा भूकम्प पीडितका लागि निर्माण गर्ने भवनमा नेपाली सेनाले सहयोग गर्ने भएको छ । एनआरएनको आग्रहमा नेपाली सेनाले क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष्य जनशक्ति लाप्रापक पठाएर साथ दिन लागेको हो । दक्ष्य जनशक्तिमा इन्जिनियर, ओभरसियर र दक्ष्य निर्माणशक्ति छन् ।
हिजो शनिबार लाप्राक पुगेका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एनआरएनको अभियानलाई नेपाली सेनाले साथ दिन स्वयसेवक खटाएको जानकारी गराए । घरको डिजाइ र निर्माण लागतको विषयमा लाप्रापकवासीसँग छलफल गर्न आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलको समेत उपस्थिति थियो ।
एनआरएनए अध्यक्ष शेष घलेले भन्नुभयो- पुनःनिर्माणमा पनि नेपाली सेनाबाट हामीले त्योभन्दा ठूलो सहयोग पाउने भएका छौं । उहाँले लाप्राक नमुना वस्ती पुनःनिर्माणमा नेपाली सेना नै सवैभन्दा ठूलो संस्थागत साझेदार भएको बताउनुभयो ।
घरको निर्माण लागत झण्डै १२ लाख रुपैयाँ पर्ने र ठूलो रकम निर्माण सामाग्री ढुवानीमा जाने जानकारी दिँदै अध्यक्ष घलेले निर्माण लागत घटाउन संघलाई अझै हजारौंको संख्यामा स्वयंसेवक आबश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपाली संघको मेहनतको प्रसंसा गर्दै लाप्राबासीलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो । ‘नेपाल सरकारले अरु भूकम्पपिडीतलाई ३ लाख रुपैयाँभन्दा दिन सकेको छैन, एनआरएनएले तपाइहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाइदिँदै छ’ पोखरेलले भन्नुभयो-‘तपाइहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ ।’