१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसद जोशीद्वारा महायज्ञमा रु २० लाख सहयोग

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार ०५:४६

फलेवास । दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ । स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो ।
महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले रु २० लाख २५ हजार सहयोग गर्नुभएको छ । विकट गाउँका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग मिलोस् भनेर आफूले उक्त रकम सहयोग गरेको महायज्ञ उद्घाटनपछि जोशीले बताउनुभयो । महायज्ञको सांसद जोशी र क्षेत्र नं २ का सांसद विकास लम्सालले संयुक्त रुपमा गर्नुभएको थियो ।
त्यस्तै सांसद विकास लम्सालले पनि विद्यालयमा स्नातक तह र प्राविधिक शिक्षाका लागि आफूले सक्दो सहयोग उपलब्ध गराउने वचन दिनुभयो । उच्च शिक्षा अध्ययन गर्न गाउँभन्दा बाहिर जान बाध्य दक्षिण क्षेत्रका विद्यार्थीलाई उच्चस्तरको शिक्षा गाउँमै दिने उद्देश्यले विहादी क्याम्पसको सञ्चालन गर्ने र नेपाल तारा मावि रानीपानीमा सञ्चालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञमा युवा पण्डित भागवत भाष्कर दिनबन्धु पोखरेलले प्रवचन दिनुभएको छ । उक्त महायज्ञबाट झन्डै रु पाँच करोड सङ्कलन गर्ने उद्देश्य रहेको प्रचारप्रसार संयोजक अनिल मास्केले जानकारी दिनुभयो ।