१३ बैशाख २०८१, बिहीबार
Follow Us

केटा होस या केटी बाटो ढुकेर पिट्थें

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार १३:१२

शोभा गौतम खड्का, पूर्वअध्यक्ष, नारायणगढ लेडी जेसिज
प्रजातन्त्र सेनानी बुबा नन्दकिशोर गौतमको राजनीतिक प्रभावले विद्यार्थी राजनीतिमा होमिएकी शोभा गौतम खड्का यतिबेला सौन्दर्य व्यवसायमा आबद्ध छिन् । आर्थिक रूपमा सक्षम हुन सके धेरै अवसर पाउन सकिने उनको विचार छ । विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध शोभा जेसिजको व्यक्तित्व र नेतृत्व विकासको नारा पछ्याउँदै जेसिजमा लागेकी छन् । उनी सन् २०१६ मा नारायणगढ लेडी जेसिज अध्यक्ष पनि बनेकी थिइन् । उनीसँग सिर्जना अर्यालले गरेको कुराकानी :

० के काममा सक्रिय हुनुहुन्छ ?
– भर्खरै नारायणगढ लेडि जेसिजको अध्यक्षको कार्यकाल सकिएको छ । नारायणगढ लेडि जेसिजको  भवन पनि निमार्ण कार्य पनि सम्पन्न भइसकेको छ । सामाजिक संघ–संस्था, घरपरिवार र व्यवसायतिरै व्यस्त छु । अब धेरै समय व्यवसायलाई दिने विचारमा छु ।

० नारायणगढ लेडी जेसिजको पनि आफ्नै भवन निर्मार्ण गर्नुभएछ, कसरी सम्भव भयो ?
– नारायणगढ लेडी जेसिज स्थापना भएको दुई दशक भयो । भवन निर्माण हुनुमा सबै साथीहरूको सहयोग र महत्वपूर्ण योगदान छ । म सबै पूर्वअध्यक्ष र कार्यसमितिका साथीहरूलाई सम्झिन चाहन्छु । सन् २०१५ मा पूर्वअध्यक्ष सुनिता लिगल कर्माचार्यको कार्यकालमा जग्गा किनेका थियौं । नारायणगढ लेडी जेसिज स्थापनाकालदेखि नै जम्मा भएको रकमले जग्गा किनेको हो । गत वैशाखमा भवन शिलान्यास गरेका थियौं । विभिन्न दाताहरूको सहयोगले भदौदेखि भवन निर्माण सुरु गरेर गत पुस १६ गते उद्घाटन गरेका हौं ।

० नारायणगढ जेसिजको भवन छँदै थियो, तपाईहरूलाई छुट्टै भवन आवश्यक थियो र ?
– नारायणगढ जेसिजको भवन विभिन्न कार्यक्रममा भाडाका लागि पनि दिने गरिएको छ । आफ्नो भवन नभएकाले मिटिङलगायतका कार्यक्रम गर्न सधैं बाहिर गइरहनुपर्ने, यसो अन्य जिल्लाका साथीभाइ आउँदा पनि कहाँ बस्ने भन्ने हुने, त्यसैले आफ्नै भवन निर्माण गर्न हामी लागिप¥यौ । र, सफल पनि भयौं ।

० सामाजिक कामबाहेक व्यवसाय के गर्नु हुन्छ ?
– मेरो पार्लर व्यवसाय हो । विगत १७ वर्षदेखि पार्लर चलाइरहेकी छु । चितवन ब्युटीपार्लर युनिटको पूर्वअध्यक्ष पनि हुँ ।

० ब्युटीपार्लरप्रति सामाजिक दृष्टिकोण कस्तो छ ?
– नेपाली समाज अझै संकुचित नै छ । पहिले जस्तो नकारात्मक पनि छैन । विस्तार सकारात्मक बन्दै जान थालेको छ ।

० ब्युटीपार्लरमै किन जाने ?
– ब्युटीपार्लरमा मेकअप गरेर राम्रो बन्न जाने होइन, आफ्नो स्किनअनुसारको सामग्री के लगाउँदा ठिक हुन्छ भन्दै चेक गरेर  अनुहार सुहाउँदो मेकअप गरी स्र्माट बन्न जाने हो । बजारमा विभिन्न किसिमका उत्पादन आएका छन्, सबैका लागि सबै उत्पादन उपयुक्त हुँदैन, जे पायो त्यो लगाउँदा त्यसको नराम्रो असर पनि पर्छ । कसैलाई सिधा सल्ल कपाल मन पर्छ । मान्छेको अनुहारको आकार, कलरअनुसार सुहाउँछ कि सुहाउँदैन, त्यो आधारमा मेकअप गर्न हामी सल्लाह दिन्छौं ।

० राजनीतिक परिवारकी तपाई पार्लर व्यवसायतिर सक्रिय हुनु भएछ नि ?
– मेरो बुबा नेता हुनुुहुथ्यो । बुवाकै कारण पश्चिम चितवनको हाम्रो माइतीको गाउँको नाम नै गौतमनगर भएको हो । नेताहरू घरमा आउने, कार्यक्रमहरू गर्ने भएकाले विद्यार्थीकालमा त्यसको प्रभाव ममा पनि स्वाभाविक रूपमा प¥योे । म सानैदेखि अरुलाई सिंगार्न, हस्तकलाका विभिन्न सामग्री बनाउन सौखिन थिएँ । वीरेन्द्र क्याम्पसमा पढ्ने क्रममा भरतपुर नगरपालिकाले पार्लरसम्बन्धी तालिम दिएको थियो । त्यो तालिमपछि म आफंैले पार्लर खोलेकी हुँ । आफ्नो खुट्टामा उभिन पार्लर व्यवसायले मलाई धेरै सहयोग पुगेको छ । व्यवसायका कारण कमाउन सक्ने भएँ । कमाईका कारण दुई चार रूपैयाँ खर्च गर्नसक्ने भएकी हुँ । त्यसैबाट म समाजमा चिनिन पनि सकें भन्ने लाग्छ । राजनीतिमा सामूहिकताको भावना सिकेको थिएँ । त्यसको प्रभाव पार्लर व्यवसायहरूलाई सगंठित गराउन  सहयोग पुगेको छ ।

० विवाह कहिले, कहाँ गर्नुभयो नि ?
– २०६० सालमा हेटौंडामा मेरो विवाह भएको हो । व्यवसायकै कारण अहिले त घर पनि चितवनमै बनाइसकेकी छु  ।

० श्रीमान् के गर्नु हुन्छ  ?
– मेरो श्रीमान् निरञ्जन खड्का विगत दुई वर्षदेखि अमेरिकामा हुनुहुन्छ । त्यसभन्दा अघि पनि अन्य देशमा हुनुहुन्थ्यो ।

० एक्लै हुनुहँुदो रहेछ, घरपरिवार व्यवसाय, समाज कसरी व्यवस्थापन गर्नु’भा छ  ?
– सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो, म यो गर्छु भन्ने संकल्प लिएर गरेको काम पूरा हुन्छ नै । पुरुषको तुलनामा महिलालाई बाहिर निस्केर काम गर्न धेरै गाह्रो छ । म ६ महिनाको छोरोलाई स्कुटरमा बोकेर काममा जान्थें । मेरो छोरी २०६१ सालमा जन्मेकी हुन्, त्यतिखेर मन्टेश्वरी पनि थिएन । विद्यालय जाने बेलासम्म साहै्र भयो । छोराको पालामा बरु मन्टेश्वरीले सहज गरायो । बच्चाहरू साना हुँदा त साह्रै गाह्रो हुन्थ्यो । अहिले उनीहरूलाई डे होस्टलमा राखेकी छु । आफूलाई व्यस्त राख्दा र असम्भव कामलाई सम्भव बनाउँदा औधि खुसी लाग्छ ।

० बाल्यकाल र अहिलेको व्यस्तता तुलना गर्दा कस्तो लाग्छ ?
– बाल्यकाल साहै्र रमाइलो थियो । म कसैसँग नडराउने, हकी  खालको थिएँ । म आफू गल्ती गर्दिनथें, कसैले गल्ती ग¥यो भने सहन सक्दिनँ थिएँ । विद्यालयमा पढ्ने बेलामा कसैले गल्ती ग¥यो भने सरलाई भन्दा अघि साथीहरू मलाई नै भन्थें । म गल्ती गर्ने केटा होस् या केटी बाटो कुरेर भए पनि पिटेरै छोड्थे । शरीर पनि ज्यांगो नै थियो । मैले धेरै केटाहरूलाई नै कुटेको छु । म देखेर धेरै केटाहरू  डराउँथे । पढाइमा त्यति मन नलगाउने अल्छी खालको थिएँ । पहिले कुनै कुराको चिन्ता थिएन, अहिले घरपरिवार, समाजप्रतिको दायित्व छ । जीवनचक्र हो भन्ने बुझेकी छु ।

० त्यसो भए तपाईमा आमूल परिवर्तन आएछ हो ?
– अहिले त्यस्तो मान्छे यस्तो हुन सक्ने रहेछु भन्ने लाग्छ र आफैंलाई अचम्म पनि लाग्छ । तर सानैदेखि झुट बोल्दिनँ थिएँ । हकी स्वभाव त अहिले पनि छँदैछ । श्रीमान्ले जे हो, त्यो भन्ने मेरो बानीलाई राम्रो पनि मान्नु भएको छ  ।

० महिलाले गर्नै पर्ने दुई कुरा के हुन् ?
– आत्मनिर्भर बन्न खोज्नुपर्छ, दक्ष बनियो भने समस्या आउँदैन । आफूलाई कमजोर ठान्नु हुन्न । आफैं कमाउन सक्ने भयौं भने विभेद सहन पर्दैन । त्यसैले आर्थिक रूपमा सशक्त हुन म सम्पूर्ण महिला दिदीबहिनीलाई आग्रह गर्दछु, भाग्यमा होइन, कर्ममा विश्वास गर्नुपर्छ ।