१३ बैशाख २०८१, बिहीबार
Follow Us

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइयो

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार १३:२२

काठमाडौं । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको हो । कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताउनुभयो ।
केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उहाँले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राख्नुभयो । “हामी दुःख व्यहोर्न तयार छाँै । तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ”– उहाँले भन्नुभयो, “सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ ।”
उहाँले देशको स्वाभिमान कसैका विरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरे ।
उहाँले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताउनुभयो । “निर्वाचन नगर्ने प्रयास भइरहेको छ”– उहाँले भन्नुभयो, “तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौँ ।”
कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताउनुभयो । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ । राष्ट्रियतामा योगदान पु-याएबापत उक्त कार्यक्रममा खेलाडी मिरा राई, कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जनलाई सम्मान गरिएको थियो ।