१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा लगानी बढाउन आह्वान

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार १३:२८

टोरेन्टो । क्यानडाको टोरन्टो शहरमा भेला भएका गैरआवासीय नेपालीहरुले लगानीकालागि उपयुक्त र सहज वातावरण बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । गत जनवरी २२ तारिखका दिन एनआरएन क्यानडाद्वारा आयोजित नेपालमा लगानी गरौं भन्ने एक अन्तर्कृया बोल्दै वक्ताहरुले नेपालमा अझै लगानीकालागि सुरक्षित र जोखिमरहित वातावरण बन्न नसकेको गुनासो गरेका थिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल, एनआरएन युकेका सल्लाहकार रामशरण सिंखडा लगायतका वक्ताहरुले नेपालमा बौद्धिक तथा आर्थिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान पनि गरेका थिए।
एनआरएन क्यानडाले एनआरएनए आइसिसिलाई नेपालमा लगानी गर्नका लागि सुरक्षित र उपयुक्त वातावरण बनाउन नेपाल सरकारसंग पहल गर्न आह्वान गरेको छ। त्यस्तै प्रवासमा बसेका सबै नेपालीहरुले ठूलो रकम लगानी गर्न नसक्ने हुनाले ससानो रकम पनि लगानी गर्ने वातावरण बनाउन पनि आह्वान गरिएको छ।
क्यानडा गैरआवासीय नेपालीहरुको सकृयतामा शुरु गरिएको हातेमालो समूहको उदाहरण दिंदै  एनआरएन क्यानडाले सामूहिक लगानीलाई प्रोत्साहित गर्नुपर्ने सुझाव पनि दिएको छ। सो अवसरमा हातेमालो फाइनेन्सियल इंकका कोषाध्यक्ष कमल पौडेलले एक प्रस्तुति पनि दिनुभएको थियो ।
तुला भट्टचनले संयोजन गर्नुभएको सो कार्यक्रममा एनआरएन एनसिसि क्यानडाका अध्यक्ष तुल्सीप्रसाद सापकोटाले सबैलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रममा क्यानडास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो।