१२ बैशाख २०८१, बुधबार
Follow Us

हेटौडामा मासिक ५३ करोड रुपैयाँको विद्युत चुहावट

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार १३:५६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ । प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र गत आर्थिक वर्षमा सबैभन्दा बढी विद्युत् चुहावट भएको क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ती दुई वितरण केन्द्रमा मात्रै ५३ प्रतिशतको हाराहारीमा चुहावट भएको पाइएको छ ।
ग्रामीण क्षेत्रका साना घर, पसलले भने आफैँ हुकिङ गरेर विद्युत चोरी गरेपनि ठूला उद्योग, कलकारखाना, होटल, व्यवसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीको मिलेमतोमा बिजुली चोरी हुने गरेको छ । प्राधिकरणको क्षेत्रीय कार्यालयअन्तर्गत गौर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत्मा ५३ दशमलव ५१ प्रतिशत विद्युत चुहावट भएको छ । प्राविधिक चुहावट भने चोरीको तुलनामा कम भए पनि अधिकांश स्थानमा कर्मचारीको मिलेमतोमा चोरी भएको हुनसक्ने क्षेत्रीय कार्यालयले जनाएको छ ।
गौर वितरण केन्द्रमा मात्र गत आवमा रु ३३ करोड ३८ लाख ३१ हजार बराबरको विद्युत् चोरी भएको छ । एक वर्षमा यस केन्द्रबाट वितरण भएको विद्युत्को चार करोड १७ लाख २८ हजार ९९४ युनिट चुहावट भएको थियो ।
यो विद्युत ग्रीड महाशाखाले दिएको आधाभन्दा धेरै चोरी भएर सकिने गरेको क्षेत्रीय कार्यालयले जनाएको छ । विद्युत् बढी चुहावट हुनुमा कर्मचारीको मिलेमतो छ की छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्राधिकरण हेटौँडा वितरण केन्द्रका सहायक निर्देशक सीताराम तखासेले बताउनुभयो ।
विद्युत् चुहावटका विषयमा धेरै थोरै भन्ने कुरा आफूले तथ्याङ्क हेरेर मात्र बताउन सक्ने भएपनि चोरी नियन्त्रण गर्ने प्रयासमा आफूहरु रहेको प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख पद्माकान्त झा बताउनुहुन्छ ।
गौर वितरण केन्द्रमा ग्रीड महाशाखाले गत आवमा सात करोड ७९ लाख ७८ हजार ९९७ युनिट विद्युत उपलब्ध गराएको थियो । त्यसमा गौर वितरण केन्द्रले तीन करोड ६२ लाख ५० हजार १२ युनिट बिक्री गरेको रकम मात्र सङ्कलन गरेको छ । त्यसमध्ये बाँकी विद्युत चुहावट भएको हुनसक्ने गौर वितरण केन्द्रका निमित्त प्रमुख विनोदकुमार सिंह बताउनुहुन्छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रअन्तर्गतका गाउँ र सहरमा पनि गत आवमा ५० दशमलव ३६ प्रतिशत विद्युत चुहावट भएको छ । यस वितरण केन्द्रअन्तर्गतको विभिन्न क्षेत्रमा गरी गत आवमा मात्र रु १९ करोड २७ लाख १६ हजार बराबरको विद्युुत् चोरी भएको तथ्याङ्क छ । सो वितरण केन्द्रलाई बितेको आवमा चार करोड ७८ लाख ३३ हजार ३७० युनिट विद्युत उपलब्ध गराएको थियो ।
उपलब्ध गराइएको मध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् दुई करोड ४० लाख ८९ हजार ६१६ युनिट चुहावट भएको कलैया वितरण केन्द्का प्रमुख बिनोदकुमार चौधरीको भनाइ छ । सो वितरण केन्द्रले गत आवमा दुई करोड ३७ लाख ४३ हजार ७५३ युनिट बिक्री गरेको रकम मात्र सङ्कलन गरेको र अरु चुहावट भएको पाइएको छ ।
ऊर्जा मन्त्रालयले आगामी तीन महिनाभित्र बारा र कलैया वितरण केन्द्रअन्तर्गत हुने हुकिङ नियन्त्रण गर्न क्षेत्रीय कार्यालयमार्फत निर्देशन दिइसकेको छ । केही दिन पहिले ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले हुकिङमुक्त क्षेत्र बनाउन निर्देशन दिएको हो ।