७ बैशाख २०८१, शुक्रबार
Follow Us

रामेछापमा हंगकंग नेपाली मन्चको राहत वितरण कार्यक्रम

नेपालब्रिटेन डट कम्
१६ माघ २०७३, आईतवार २०:११

मन्थली ।
हङकङ नेपाली मञ्च युकेले रामेछापको फर्पु गाविस वडा नम्बर ८ मा एक कार्यक्रम गरी १ लाख रुपैयाँ बराबरको राहत सामाग्री शनिवार वितरण गरेको छ । मञ्चका निवर्तमान सचिव खुशी लिम्बुले सो राहत सामग्री वितरण गरेका हुन् । सामाजिक प्रयोजनका लागि मात्र प्रयोग गरिने ती राहत सामग्रीहरुमा लताकपडा, भाडाकुडा र कम्मल रहेका छन् ।

सदरमुकामबाट नजिकै रहेर पनि पिछडिएको मानिएको सो फर्पू गाविसमा प्राय: सुनुवार जातिको बसोवास रहेको छ । एनआरएन बेलायतका प्रतिनिधि समेत रहेका खुशी लिम्बुले राहत समाग्री वितरण गर्दै भने, “७२ सालको भूकम्पमा यस गाविसबासीले अरुभन्दा बढी क्षति व्योहोर्नु पर्यो । त्यसैले यसअघि एनआरएनले यही ठाउँमा आएर व्यक्तिगत रुपमा राहत वितरण गर्यो । यसपाली हामीले व्यक्तिगत राहत सामाग्री वितरण गर्दैनौ।”

उनले हालको अवस्था व्यक्तिगत राहत सामग्री वितरण गर्ने बेला नभएकोले पनि सामुहिक प्रयोजनको लागि भनेर राहत सामाग्री लिएर आएको प्रष्ट पार्दै भने, “अब व्यक्तिगत काम मात्र होइन सामुहिक काममा लाग्ने बेला भएको छ । अव जुनसुकै काममा पनि सामुहिक प्रयासको खाँचो छ । तब मात्र गाउँको विकासमा दीगोपन आउन सक्छ । यी सामग्रीहरुको पनि सही प्रयोग होस् भन्ने हंगकंग नेपाली मंच चाहन्छ ।”

कृषि र कृषकको हितमा काम गर्ने फर्पुको वडा नं ८ मा गठन भएको कृषि समूहको संरक्षकत्वमा रहनेगरी ती सामुहिक सामाग्रीहरु गाउमै रहनेछन् । सामग्रीहरु संरक्षणका लागि एउटा राहत सामग्री संरक्षक समिति पनि बनिसकेको छ । उनीहरुले नै संरक्षण पनि गर्नेछन् र सामग्रीहरु गाउले नै प्रयोग गर्नेछन् ।

“हामीले व्यक्तिगत रुपमा त जेनतेज राहत सामग्री जोहो गरेका छौ तर, गाउँमा सामुहिक काम र मर्दापर्दा सामग्री जुटाउन निकै अप्ठ्यारो पर्दै आइरहेको थियो । तर अब उप्रान्त यस्ता सामूहिक काम गर्दा, विवाह, भोज भतेर जस्ता काम पनि गर्नै पर्छ त्यसकालागि मात्र यी सामग्री प्रयोग गर्छौ” फर्पू गाविसका सामाजिक अभियन्ता अमृत सुनुवारले बताए । उनले विपन्न परिवारका लागि वितरण गरिएको राहत सामग्रीको सामूहिक रुपमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

भूकम्पले प्राय सवै घर भत्काएको फर्पुको सुनुवार गाउँमा मञ्चले यस अघि पनि ६ लाख बरावरको तत्कालीन घर टहराहरु वनाइदिएको थियो ।