७ बैशाख २०८१, शुक्रबार
Follow Us

सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक निष्कर्षविहीन

नेपालब्रिटेन डट कम्
१७ माघ २०७३, सोमबार ०६:३५

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीचको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार बिहान बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणालगायतका विषयमा छलफल गरी सहमति कायम गर्न प्रधानमन्त्री दाहालले बैठक बोलाएका थिए ।
बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचन घोषणा सँगसँगै गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म स्थानीय निर्वाचन घोषणा गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका थिए । बैठकमा मधेसी मोर्चाका नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पनि सच्याउन माग गरेका छन् । पुनर्संरचना आयोगले दिएको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने उनीहरुको भनाइ थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागी थिए ।