१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आखिर नियतिका सामु हारिन सुनिता

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार १३:२४

काठमाडौं । घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको छ । आज राति १.३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ ।
यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु-याई भागेपछि उनलाई उपचारका लागि ८ गते काठमाडौँ ल्याइएको थियो । घरमा सामान्य झगडा भएपछि श्रीमान् राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले मुखमै हानेका थिए । आगोले उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको थियो ।
वर्न वार्डकी नर्सिङ इन्चार्ज अर्चना रञ्जितले सुनिता इनालेसन इन्जुरी ( आगोको राप धेरै निलेर फोक्सो जलेका) कारण मृत्यु भएको जानकारी दिनुभयो । ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौँमा उपचारका लागि ल्याइएकी सुनिताको सम्पूर्ण उपचार खर्च सरकारले जिम्मा लिएको थियो ।
महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सुनिताको उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुका साथै अभियुक्तलाई उम्कन नदिने बताउनुभएको थियो । तर प्रहरीले अहिलेसम्म अभियुक्तलाई समाउन सकेको छैन ।
छोराले बुहारी जलाउने प्रयास गरेलगत्तै फरार भए पनि सुनिताकी सासूले उनलाई उपचार गर्न काठमाडौँ ल्याएकी थिइन् । अढाई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाकी सुनिता विवाह गरी नेपाल आएकी थिइन् । उनकी डेढ वर्षकी छोरी छिन् ।
नर्सिङ इन्चार्ज रञ्जितले भन्नुभयो, । ‘फोक्सोबाट मुटुमा जाने रगत सञ्चालनका लागि इक्मो (भअmय ) मेसिन लगाइएको थियो, जसले अक्सिजन सन्तुलन गर्ने हो । सन्तुलन पनि भएको थियो । तर फोक्सोमा धेरै असर भइसकेकाले उहाँलाई बचाउन सकिएन ।’’