१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जेठभरमा निर्वाचन हुने

नेपालब्रिटेन डट कम्
२१ माघ २०७३, शुक्रबार १२:३५

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठभरमा चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले बिहीबार गरेको निर्णयले अब निर्वाचनको तयारी गर्ने वातावरण बनेको बताउनुभयो । मुलुकमा स्थानीय निर्वाचन नभएको करिब १९ वर्ष र स्थानीय निकाय जनप्रतिविहीन भएको करिब १४ वर्ष भइसकेको छ ।
रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा अब आयोगले निर्वाचनको तयारी गर्ने बताउँदै डा यादवले भन्नुभयो, “सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले हामीलाई निर्वाचनका लागि तयारी गर्न बाटो खुलेको छ, हामी अब तयारीमा जुट्छौँ ।”
डा यादवले स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउनका लागि सरकारले पठाउने पत्र हेरेपछि मात्रै थप कुरामा निर्णय लिन सकिने बताउनुभयो ।
उहाँले चुनावसम्बन्धी बाँकी काम तत्काल गर्न सरकारलाई विभिन्न दलसँग सहकार्य गर्न सुझाव दिनुभयो । डा यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु दुःखद् भएको बताउँदै सो आयोगको प्रतिवेदन समयमै पाए मतदानस्थल कहाँ राख्नेलगायत प्राविधिक विषयमा निर्णय लिन सजिलो हुने थियो भन्नुभयो ।
उहाँका अनुसार आयोग चुनावको तयारीमा जुटिसकेको छ । “सरकारले भनेकै मितिमा चुनाव गर्न सकिने छ”, उहाँले भन्नुभयो, “सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले केही अन्योल थपेको छ । ” उहाँका अनुसार निर्वाचनका लागि करिब चार महिनाको समयावधि आवश्यक चाहिन्छ र एकै दिनमा सम्भव नभएकाले दुई वा तीन चरणमा प्रत्यक्ष चुनाव गर्नुपर्छ ।
प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ र २०५४मा स्थानीय निकायको निर्वाचन भएकामा पछिल्लो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको कार्यावधि विसं २०५९मा सकिएको थियो ।