१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजनीतिभन्दा कृषि प्यारो

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार ०५:०८

रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आउनुभएको छ । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ ।
तत्कालीन युद्धका बेला छापामार रहनुभएका उहाँ नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्नुहुन्छ । पाँच वर्षअघि धबाङबाट सदरमुकाम लिबाङ आउनुभएका उहाँले नर्सरीबाट अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गर्नेे पेसा अँगाल्नुभएको हो । उहाँले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएको थियो । यो साल भने आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहनुभएको छ । उहाँले अलैँची बिक्रीबाट आएको मुनाफाले जग्गा खरिद गर्नुभएको हो ।
सहोदर दाइ मूलबहादुरसँग साझेदारीमा सो व्यवसाय गर्दै आउनुभएका उहाँको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् । आफ्नो नर्सरीमा तयार भएका बिरुवा जिल्लामा मात्र होइन अन्यत्र पनि माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भन्नुहुन्छ, “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पु-याउनै सकिएको छैन ।”
उहाँले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गर्नुभएको हो । उहाँको नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उहाँ अहिले नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका सदस्य समेत हुनुहुन्छ । कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उहाँ भन्नुहुन्छ, “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारोे लाग्छ ।” रोल्पाका किसान अलैँची खेती गर्न आकर्षित हुँदैछन् । जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेकोे वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताउनुहुन्छ । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण समेत रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ ।
प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलँैचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउनुहुन्छ । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
उमा केसी