७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रणय दिवसमा रु ५० लाखको गुलाब

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार ०५:१३

काठमाडौं । पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय नेपालमा पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि हुँदै गए पनि आत्मनिर्भर बन्न सकेको अवस्था छैन ।
प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि अझै खपत हुने फूलको करिब १८ प्रतिशत अन्य मुुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । “बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतबाट फूल ल्याउन आवश्यक छ” श्रेष्ठले भन्नुभयो, “थोरै अभाव भए मात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाउँछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।”
गुलाब भारतबाट आयात गर्दा प्रतिस्टिक रु ३० देखि ३५ सम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा उपभोक्ताले रु ४० देखि १०० भन्दा बढी मूल्यमा किन्नुपर्ने अवस्था नआउने एसोसिएसनले जनाएको छ । हरेक वर्ष फेब्रुअरी १४ माका प्रणय दिवस(भ्यालेन्टाइन डे) मनाइँदै आएको छ ।
दुई लाख स्टिक रातो गुलाब
यस वर्षको प्रेम दिवसका लागि दुई लाख स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । खपत हुने गुलाबमध्ये एक लाख स्वदेशी उत्पादन हुनेछ भने बाँकी एक लाख भारतबाट ल्याइने छ । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । हरेक वर्ष रु एक करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ ।
काठमाडौँ उपत्यका र चितवनमा विशेषगरी रातो गुलाबको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । नेपालमा वार्षिक रुपमा रु डेढ अर्बको फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हँुदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउनुहुन्छ ।
प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।
पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।
नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।
– शर्मिला पाठक