१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टेरियालाई शान्तिदूत बनाइने

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार १२:५२

काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया मगरलाई शान्ति दूत बनाउनका लागि मन्त्रिपरिषद्मा छलफल चलाउने बताउनुभएको छ । तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आज उहाँलाई सम्मान गर्दै मन्त्री खाँणले मगरले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषद्बाट सजिलै पारित हुने बताउनुभयो ।
मन्त्री खाँणले मगरले प्राप्त गरेको सफलताले अहिले उहाँ सबै नेपालीको मनमा बसेको सदाचार व्यक्त गर्दै मगरलाई राष्ट्रले चाँडो सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद् आदित्यनारायण कसोधनले रुपन्देहीको सामान्य परिवारमा जन्मेकी मगरले अन्तर्राष्ट्रिय तहको प्रतिस्पर्धामा आफूलाई स्थापित गरी देशको गौरब बढाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा उहाँको सफलताको कामना गर्नुभयो ।
सम्मानित मगरले नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन आफूले सक्दो प्रयत्न गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मगरभित्रको प्रतिभालाई अझै प्रस्फुटित गराउन सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्कामगरले सरकारले टेरियाको कार्यलाई मूल्याङ्कन गरी सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । फाउण्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले तेरियाको नामबाट स्थापना गरिएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जानकारी गराउनुभयो ।