७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले पत्थर झै उभिन्छ : अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार १३:४३

इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आयोजना गरको जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले देश र जनताको हित प्रतिकूल हुने कुनै पनि कार्यविरुद्ध पत्थर झैँ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले मधेस भूमिमा बसोवास गर्ने धेरै नेताहरूले धेरै वर्षसम्म शासनसत्तामा बसेर आफू र आफ्नो नातागोता र आफन्तलाई बनाउने कार्य गरेको आम नेपालीसामु लुकेको छैन भन्दै नयाँ संविधानले कहाँ कसलाई अप्ठ्यारो पारेको छ स्पष्टरुपमा मधेसवादी नेताहरूले खुलेर भन्न नसक्नुमा मधेस मुद्दा षड्यन्त्रको पुलिन्दाबाहेक केही हुन सक्दैन भन्नुभयो ।
सरकार स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाउँदै उहाँले तोकिएको समयभित्र चुनाव नभए संवैधानिक र राजनीतिक सङ्कट आउने भएकाले एमाले त्यस्तो अवस्था आउन नदिन सचेत रहेको बताउनुभयो । आमसभामा पार्टी सचिव एवम प्रदेश नम्बर १ का संयोजक पूर्वमन्त्री भीम आचार्य, केन्द्रीय सदस्य धर्मराज निरौला, महफुज अन्सार र एमाले सुनसरी उपाध्यक्ष रमेश बस्नेतलगायतले बोल्नुभएको थियो ।