१३ बैशाख २०८१, बिहीबार
Follow Us

एबरडिनमा ध्यान शिविर

नेपालब्रिटेन डट कम्
२२ माघ २०७३, शनिबार १९:५८

काठमाडौं नागार्जुन हिल्सस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले स्कटल्याण्डको एबरडिन स्थित नेपाली समुदायका सदस्यहरुका लागि ध्यान शिविर सन्चालन गर्नुभएको छ।
नेप्लीज हिमालयन एसोसियन स्कटल्याण्डद्वारा २८ जनवरी बेलुका आयोजित सत्संगमा बोल्दै स्वामी अर्हतले आधुनिक जीवन शैलीले मानिसमा तनाव बढाएको भन्दै खाने कुरा र काम गर्ने शैलीलाई व्यवस्थित गरेर तनाव घटाउन सकिने बताउनुभयो। उहाँले योग र ध्यानको नियमित अभ्यासबाट जीवनलाई सुखी र आनन्दित तुल्याउन सबैलाई आग्रह पनि गर्नुभयो।
शिविरको दोश्रो दिन २९ जनवरीका दिन युनिभर्सिटी अफ एबरडिनको सभाकक्षमा आयोजित कार्यक्रममा स्वामी अर्हतले ध्यान तथा योगका दुई दर्जनभन्दा बढी विधिहरु सिकाउनुभयो। झण्डै चार घन्टा चलेको उक्त कार्यक्रममा उहाँले स्वस्थ शरीरका साथै मन स्वस्थ राख्न ध्यान अनिवार्य भएको बताउनुभयो। उहाँले बालबालिकाहरुलाई सानै उमेरदेखि योग र ध्यानको अभ्यासमा लगाउन सुझाव पनि दिनुभयो।
कार्यक्रममा नेप्लीज हिमालयन एसोसियन स्कटल्याण्डका अध्यक्ष टक थापाले स्वामी अर्हत तथा सबै सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो।
यसअघि स्वामी अर्हतले फार्नबरो, डार्टफोर्ड लगायतका स्थानहरुमा एक दिवसीय ध्यान तथा योग कक्षाहरु सन्चालन गर्नुका साथै लण्डनस्थित बीबीसीको मुख्यालयमा सुखी र स्वस्थ जीवन जीउने तरिकाकाबारे एक व्याख्यान पनि दिनुभएको थियो।