१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुन काण्डमा माथिल्ला अधिकृत पक्राउ पर्न अझै बाँकी

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार १४:११

काठमाडौं । ३३ किलो सुन बोकेर निस्कँदै गर्दा पक्राउ परेका भरिया गोपालबहादुर शाही, सुन लिन आउने सन्तोष काफ्ले, दिलबहादुर थापा, भन्सारका कर्मचारी राजकुमार ढकाल र श्रीनारायण यादवको बयान सत्य ठहरियो भने नेपाल प्रहरीमा निकै ठूलो उथलपुथल हुने निश्चित छ । उक्त सुनका वास्तविक मालिकहरूको सूचीमा शाहले नेपाल प्रहरीका एसएसपी श्याम खत्रीको नामसमेत उल्लेख गर्दा केरकारमा संलग्न सीआईबीका अधिकृतले सुरुमा पत्याएका थिएनन् । जब एसएसपी खत्रीले प्रयोग गर्ने गरेका टेलिफोन नम्बरहरूका आधारमा त्यसको रेकर्ड अनुसन्धान गरियो, तब शाहीको बयान साँचो ठहरिएको प्रहरी स्रोतले बताएको छ । शाहीले खत्रीका अलावा डीआईजी गोविन्द निरौलालगायत उच्च अधिकृत र एकजना एआईजीको नाम पनि मुछिएको विश्वस्त स्रोतले बताएको छ । उनीहरूमाथिको अनुसन्धानमा सीआईबी जुटेको छ ।
तस्करी नियन्त्रणको जिम्मा दिएर राज्यले एयरपोर्टमा खटाएका एसएसपी खत्री आफैं तस्करीमा संलग्न भएको प्रमाण भेटिएसँगै आइतबार दिउँसो उनलाई पक्राउ गरिएको छ । गत पुस २१ गते दुबई हुँदै काठमाडौंमा तस्करी भएको साढे ३३ किलो सुनसहित तीनजनालाई सीआईबीले पक्राउ गरेको थियो । सुनकाण्डपछि एसएसपी खत्रीलाई हेडक्वाटर फिर्ता बोलाइए पनि डीआइजी निरौलालाई फिर्ता बोलाइएको थिएन । दुबईबाट आएको उक्त तस्करीको सुन एक रात विमानस्थलकै लगेज कक्षमा छाडेर गोपाल शाही कोटेश्वरस्थित घरमा सुतेका थिए । दुबईदेखि नै सीआईबी प्रमुख डीआईजी नवराज सिलवालले पिछा गरेको बुझिएको छ । जसलाई विमानस्थलको सुरक्षाका लागि डीआईजी निरौलाको कमान्डमा खटिएकामध्ये चारजना प्रहरीले रातभर डिउटी दिएर सुरक्षा गरेको स्रोतले बतायो । एसएसपी खत्री सुन तस्करी भएका समयमा विमानस्थलमै कार्यरत थिए ।
तस्करीको सुन पक्राउ गर्नुको साटो प्रहरी खटाएर रातभर सुरक्षा दिने काममा संलग्न डीआईजी निरौला भने हालसम्म निलम्बनमा समेत परेका छैनन् । पर्याप्त प्रमाण जुटे मात्रै डीआईजी निरौला पक्राउ पर्ने अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । सुनकाण्डमा सीआईबीले विमानस्थल भन्सारका तीनजना अधिकृतलाई पहिले नै पक्राउ गरिसकेको थियो भने २९ जना कर्मचारी निलम्बनमा परेका थिए । सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी सिलवालले करिब दुई महिनाको गोप्य अनुसन्धानपछि एयरपोर्टबाट हुने गरेको सुन तस्करीको रहस्य पत्ता लगाएका हुन् । तर यति ठूलो र प्रभावशाली सञ्जाल तस्करीमा को को संलग्न छन् ? भन्ने कुरा उनले पछि मात्रै थाहा पाएका थिए, स्रोतले भन्यो ।