११ बैशाख २०८१, मंगलवार
Follow Us

सहारा यूकेले बनायाे ५ काेठे स्कुल

नेपालब्रिटेन डट कम्
२७ असार २०७३, सोमबार २०:३५

लण्डन । सहारा युकेले गत वर्षको बैशाखमा गएको भूकम्पले क्षतिग्रस्त गोर्खाको घैरुङ गाविस—१ मा रहेको गणेश प्राथमिक विद्यालय भवनको पुनर्निर्माण गरेको छ । सहाराले ५ महिना लगाएर विद्यालयको ५ कोठे नयाँ भवन र बाँकी तीन कोठा पूरानो भवनलाई पुनर्निर्माण गरेको हो ।

गत वर्षको १२ वैशाखको भूकम्पले विद्यालयका दुवै भवन जगैदेखि भत्किएका थिए । विद्यालयका अन्य संरचना पनि भूकम्पका कारण नष्ट भएका थिए ।

जसका कारण एक शैक्षिक सत्रभरि विधार्थीहरु टहरामा बसेर पढ्न बाध्य भएका थिए । सहाराले नयाँ भवन निर्माण गरिदिएपछि भने विद्यार्थी, शिक्षक र अभिभावकमा खुशी छाएको छ ।

विद्यालयको पुनर्निर्माण र नवनिर्माण कार्य सहारा युकेको पहलमा अल्डरसट एफसी युके, सहारा युकेका संरक्षक तथा उधोगपति अरुण चौधरी र सहारा युके सहयोगमा गत पुसमा सुरु भएको थियो । विद्यालय निर्माणका लागि स्थानीयहरुले पनि निःशुल्क श्रमदान गरेका थिए ।

विद्यालय उक्त गाविसको वडा नं. १, २ ४ नम्बर वडाका विद्यालयहरुलाई पायक पर्छ । अहिले विद्यालयमा ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालय बनेपछि गाउँ बाहिर गएका अन्य विद्यार्थीहरुलाई पनि गाउँ फर्किने क्रममा रहेको स्थानीयले बताएका छन् ।

thumbnail_Cheque hand over
स्थानीयहरुले विद्यालयको दिगो सञ्चालनका लागि सामुदायिक वन समूहबाट विक्री गरेका काठबापत प्राप्त भएको मध्ये कम्तिमा १० प्रतिशत रकम विद्यालयलाई सहयोग गर्ने निर्णय गरेका छन् । यस्तै नजिकै रहेको ढुंगाखानीको पूरै आम्दानी पनि विद्यालयको खातामा जम्मा गरेर शैक्षिक स्तरोन्नतीमा खर्चिने तयारी पनि स्थानीयको छ ।

सहाराले विद्यालयलाई वालमैत्री बनाउनुका साथै नजिकै धारा र तारबारको ब्यवस्था समेत गरिदिएको छ । विद्यालय ब्यवस्थापन समितिले विद्यालय निर्माणमा सहयोग पु-याउने सहारा क्लब पोखरा, अल्डरसट एफसी युके र सहारा युकेलाई धन्यवाद ज्ञापन गरेको छ ।

विद्यालयको निर्माण र पुनर्निर्माणमा सहारा युकेका अध्यक्ष दिलिप गुरुङ र सहारा युकेका उपाध्यक्ष तथा भूकम्प सहायता कोर्डिनेटर मीनबहादुर गुरुङ निकै सक्रियताका साथ लागि परेका थिए ।

thumbnail_2 Gurkha