April 9, 2020

मधेसको विखण्डनको कुरा औचित्यहिन: उपप्रम निधि

  6th February 2017 मा प्रकाशित

जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताउनुभएको छ । उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
उहाँले मधेस नेपालको हो, मधेसी भू–भाग नेपालको हो भन्ने भावनाविपरीत कसैले खण्डित गर्ने कुरा गरेमा सरकार सहन सक्दैन भन्नुभयो ।
हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत् रहेकाले सोप्रति सजग हुनु जरूरी भएको धारणा उहाँले राख्नुभयो ।
उहाँले संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने खाँचो औँल्याउनुभयो ।
उपप्रधानमन्त्री निधिले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढदै जाने लोकतान्त्रिक प्रणलीको मूल चरित्र हुने भएकाले सो चरित्रलाई सबैले आत्मसात गर्नु आवश्यक भएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि, आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताउनुभयो ।

प्रतिक्रिया