लन्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा कुमार पन्तले आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् । संघको उपाध्यक्ष समेत रहेका पन्तले शनिवार नेपाल खबर डट कमको एक अन्तरवार्तामा आफु अध्यक्ष पदको स्वभाविक दावेदार भएको बताएका छन् । उनले चुनाव भन्नेबित्तिकै पहिले सर्वसम्मतिको कुरा आउँछ। त्यसमा मिलेन भने मतदान गर्ने हो। म संस्थाको महासचिव थिएँ, अहिले उपाध्यक्ष छु। यो पटक मात्रै होइन अघिल्लै पटकदेखि साथीहरुले तपाईं अघि बढ्नुस भन्नुभएको थियो। हामी तपाईंको साथमा छौँ भन्ने साथीहरु धेरै थिए। अहिले पनि साथीहरुले भनिराख्नु भएकाले म स्वाभाविक रुपमा अध्यक्षको उम्मेदवार हुन्छु भनेका छन् ।

पन्तले आफुले बोकेका एजेण्डालाई विश्वसनीय ढंगले कसैले ल्याउँछ कि ल्याउँदैन त्यो पनि हृेरिरहेको बताए ।

उनले भनेका छन् आरएनएको पद्धतिअनुसार फेब्रुअरी–मार्चमै कसैले उम्मेदवारी घोषणा गर्दैन। त्यसैले म अहिले नै उम्मेदवारी घोषणा गरिहाल्दिनँ। तर संस्थाको नेतृत्वका लागि म तयार छु। साथीहरुले गर्नुभएको विश्वासलाई काँधमा लिन तयार छु।

अन्तरवार्ताको पूर्णपाठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तअहिले भूकम्पपछिको नमुना बस्ती निर्माण स्थल गोरखाको लाप्राकमा छन्। अध्यक्ष शेष घले लाप्राकबाट फर्केर अष्ट्रेलिया उडे लगत्तै उपाध्यक्ष पन्त एनआरएनएको अहिलेसम्मकै ठूलो लोककल्याणकारी परियोजनास्थल लाप्राक पुगेका हुन्। नयाँ नेतृत्व छनोटका लागि एनआरएनएको ग्लोवल कन्फरेन्स हुनु झण्डै नौ महिनाअघि नै अध्यक्षका प्रत्यासीका रुपमा चर्चामा आएका उपाध्यक्ष पन्तसँग नेपालखबरका पूर्ण बस्नेतले शनिबार काठमाडौँमा गरेको वार्ताः

भर्खर नेपाल आइपुग्नु भयो, यसपटकको भ्रमण के कुरामा केन्द्रित हुन्छ?

एनआरएनएले अहिले लाप्राकमा नमुना बस्ती बनाइरहेको छ। बिकट र महँगो भएकाले नेपाल सरकारले तोकेको साढे तीन लाख रुपैयाँमा त्यहाँ घर नबन्ने रहेछ। एउटा घर बनाउन १२ लाखभन्दा माथि पर्ने भएपछि हामी अहिले लागत कम गर्न व्यापक रुपमा स्वयंसेवक परिचालन गर्ने तयारी गरिरहेका छौँ। एउटा घरलाई १२ लाख खर्च गर्नेगरी पुग्दो रकम पनि उठेको छैन। त्यसैले संसारभरीबाट अहिले साथीहरु आएर कसरी स्वयंसेवक परिचालन गर्ने, उनीहरुको खानपान, बसोबासको व्यवस्था कसरी गर्ने भन्ने विषयमा समय खर्च गरिरहेका छौँ। म पनि लाप्राक जानकै लागि यहाँ आएको हुँ। त्यहाँ पुगेर फर्केपछि को को कसरी स्वयंसेवकका रुपमा जाने भनेर साथीहरु जम्मा गरेर म फेरि लाप्राक जान्छु।

लाप्राक नमुना बस्ती त अब सेनासँग मिलेर बनाउन लागिएको होइन र?

हो। नेपाली सेनाले पनि त्यहाँ आफ्ना जवानहरुलाई परिचालन गरेको छ। स्वयंसेवा गर्ने साथीहरुको मात्रै क्षमताले नधान्ने हुँदा नेपाली सेनासँग हामीले अनुरोध गरेका थियौँ। फेब्रुअरी महिनाभरका लागि नेपाली सेनाले ४० जवान अहिले त्यहाँ पठाएको छ र आवश्यकताअनुसार मार्च महिनामा पनि जवान पठाउँछौँ भनेको छ। त्यसैअन्तर्गत नेपाली सेनाका जवानहरुले अहिले लाप्राक गएर के कसरी काम गर्ने भन्ने विषयमा तालिम दिइरहेका छन्। नेपाली सेना, स्वयंसेवक, हाम्रातर्फबाट परियोजनामा खटिएका मानिसहरु सबैको बीचमा संयोजन हुन्छ र काम अघि बढ्छ।

एनआरएनहरु चाहिँ स्वयंसेवाका लागि कत्तिको इच्छुक छन्?
एकदमै इच्छुक छन्। भूकम्पको बेला एक प्रकारको तरंग र भावुकता थियो। त्यसैले हजारौँ साथीहरु काठमाडौँ आएका थिए। ती साथीहरु लाप्राक गएर बस्ती बनाउन तयार होलान् भन्नेमा शंकै लाग्थ्यो। तर अहिले यो अभियान चलिसकेपछि म संसारका थुप्रै देश घुमिसकेको छु। सबै ठाउँका साथीहरुमा उत्साह छ। यहाँ आएर काम गर्न इच्छुक देखिएका छन्। अहिले नै पनि काठमाडौँमा थुप्रै साथीहरु लाप्राक जान तयार छन्। तर त्यहाँ मुख्य काम सुरु भइसकेको छैन। जग खन्ने काम मात्रै सुरु भएको हुनाले दक्ष मानिसको मात्रै आवश्यकता छ भनेर हामीले केही दिन पर्खिन भनेका छौँ। अप्रिलपछि धेरै साथीहरु स्वयंसेवकका रुपमा काम गर्न आउँछन्।

कहिलेसम्म पूरा हुन्छ लाप्राकको बस्ती निर्माण?
हामीले आउने अक्टोबरमा हुने ग्लोबल कन्फरेन्सअघि काम सक्न खोजेका छौँ। लाप्राक चिसो स्थान भएको हुनाले जाडो महिनामा अस्तव्यस्त हुने रहेछ। त्यसैले हिउँद लाग्नुभन्दा पहिले बस्ती हस्तान्तरण गर्ने योजना बनाइरहेका छौँ।

लाप्राकबाहेक एनआरएनएसँग अहिले अन्य परियोजना के के छन्?
अहिलेसम्म एनआरएनको कार्यालय सञ्चालन गर्ने भवन थिएन। नेपाल उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको भवनमा कामकाज चलाइरहेका छौँ। हामीले एनआरएन गठन गर्दा पाँचसात हजार सदस्य थिए भने अहिले त्यो संख्या ५० हजार पुगिसकेको छ। यस्तोमा त्यो कार्यालय साँघुरो भयो। त्यसैले काठमाडौँमा एनआरएनको आफ्नै भवन हुनुपर्छ भनेर विगत केहीवर्षदेखि हामीले अभियान नै चलाउँदै आइरहेका थियौँ। त्यही भवन बन्ने क्रममा छ। ठेक्का पनि दिइसकेका छौँ र धमाधम काम भइरहेको छ। अक्टोबरको ग्लोबल कन्फरेन्सअघि त्यो कार्यालय बनाइसक्ने हाम्रो योजना छ।

यसबाहेक एनआरएनएले पहिलेदेखि नै च्यारिटीको क्षेत्रमा काम गर्दै आएको छ। यो कार्यकालमा पनि त्यसमा केही महत्वपूर्ण काम गरौँ भन्ने छ। त्यहीअन्तर्गत बागमती किनारको शंखमूल घाटमा ३४ रोपनी जग्गामा एक बगैँचा बनाउन लागिएको छ। त्यो बगैँचा एकदमै आकर्षक हुनेछ। त्यसको निर्माणकार्य धमाधम भइरहेको छ। त्यसलाई पनि अक्टोबरअघि नै निर्माण सम्पन्न गरेर स्थानीय वा बागमती सफाइ अभियानलाई हस्तान्तरण गर्ने तयारीमा छौँ।

च्यारिटीका यस्तै अन्य काम पनि भइरहेका छन्। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदले हरेक राष्ट्रिय समन्वय परिषदलाई आआफ्नो कार्यकालमा एउटा एउटा च्यारिटीको काम सम्पन्न गर्नुपर्छ भनेको छ। अहिले हामीसँग ७५ ओटा राष्ट्रिय समन्वय परिषद छन्। ती सबैले एकएक ओटा च्यारिटीसम्बन्धी काम गरिरहेका छन्। यो एक बाध्यकारी व्यवस्था हो। नेपालका विभिन्न जिल्लामा यो काम चलिरहेको छ।

एनआरएनएले आफ्नो भवन र लाप्राकको बस्ती निर्माणका लागि पुग्दो पैसा उठेको छैन भनिरहेको छ। यस्तो अवस्थामा तोकिएको समयमा निर्माण सम्पन्न होला?

हाम्रो स्रोत भनेको नै एनआरएन साथीहरु हुन्। अमेरिका, क्यानडाका साथीहरु के भन्नुहुन्छ भन्ने बुझ्न म त्यता गएको थिएँ। साथीहरुले हामी तत्काल पैसा उठाउन तयार छौँ भनेर प्रतिबद्धता जनाउनुभयो। जसअन्तर्गत क्यानडामा नौ लाख र अमेरिकामा साढे चार लाख रुपैँया तुरुन्तै उठाएर दिनुभयो। साथीहरुले अभियान सुरु गर्छौँ भन्नु भएको छ। हामी विभिन्न एनजिओ आइएनजिओहरुसँग पनि कुरा गरिरहेका छौँ। हाम्रा साथीहरुको स्रोतलाई परिचालन गर्ने पनि तयारी भइरहेको छ। हामीले लक्ष्य गरेको रकम उठ्छ भन्ने मलाई लाग्छ।

जहाँसम्म एनआरएन भवनको कुरा गर्नुभयो, त्यसका लागि हामीले १९ करोड रुपैँयाको प्रतिबद्धता गरेका थियौँ। त्यसमध्ये १४ करोड रुपैँया हामीसँग उठिसकेको छ। बाँकी रकम उठाउन पनि राष्ट्रिय समन्वय परिषदहरुले पहल गरिरहेका छन्। बाँकी पैसा उठ्छ भन्नेमा हामी ढुक्क छौँ।

लगानी भित्र्याउने कुरा पहिलेदेखि भइरहेको छ, एनआरएनबाट कति लगानी भित्रियो नेपाल?
नेपालमा लगानीको वातावरण छैन भन्ने खालको हल्ला जुन थियो, त्यसलाई व्यक्तिगत रुपमै थुप्रै एनआरएन साथीहरुले यहाँ लगानी गरेर गलत साबित गरिसक्नुभएको छ। नेपालमा लगानी गरेर नाफा लिन सकिन्छ भन्ने पुष्टि भइसकेको छ। कतिपय क्षेत्रमा त अझ अन्य स्थानमा भन्दा नेपालमा लगानी गर्दा बढी मुनाफा लिन सकिने स्थिति छ। यसले के प्रमाणित भयो भने नेपालमा लगानीको वातावरण छैन भन्ने हल्ला झुठो हो। अध्यक्ष शेष घलेले नै व्यक्तिगत रुपमा यहाँ ठूलो होटल बनाइराख्नु भएको छ। संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालकै सबैभन्दा ठूलो अस्पताल बनाइराख्नुभएको छ। विभिन्न जलविद्युत आयोजनाहरुमा पनि लगानी भइरहेको छ। मध्य तमोर जलविद्युतमा साथीहरुले लगानी गर्नुभएको छ, सानिमा माइ हाइड्रो परियोजना एनआरएन साथीहरुले बनाउन थाल्नुभएको छ। यसरी एनआरएनका साथीहरुले व्यक्तिगत रुपमा थुप्रै परियोजना सञ्चालन गरिरहनुभएको छ।

संस्थागत रुपमा पनि केही लगानी गर्नुपर्छ र यसमा कति साथीहरु इच्छुक हुनुहुन्छ भन्ने बुझ्न एउटा पूर्व परियोजना हामीले चार वर्षअघि नै सुरु गरेका थियौँ। संसारका विभिन्न सहरमा पुगेर हामीले साथीहरुलाई इच्छुक हुनुहुन्छ भने एउटा जलविद्युत परियोजना सञ्चालन गर्छौँ भनेका थियौँ। त्यसमा करिब ९ सय जनाले वचनबद्धता जनाउनुभयो र आफूले लगानी गर्ने रकम पनि जानकारी गराउनुभयो। ती ९ सय साथीहरुलाई सहभागी गराएर अहिले २७ मेगा वाटको लमजुङको दोर्दी खोला जलविद्युत निर्माण हुँदैछ। त्यसको ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ। २०१८ मा त्यो परियोजना सम्पन्न गरेर तीन वर्षभित्रमा केही मुनाफा नै बाँडिसक्नुपर्छ भनेर तयारी गरेका छौँ।

एनआरएनको क्षमताका हिसावले यो त निकै सानो परियोजना होइन र?
एकदम। तर यो टेस्ट प्रोजेक्ट मात्रै थियो। यो देखेर धेरै साथीहरु उत्साहित हुनुभएको छ। यस्तै ठूला परियोजनाहरु ल्याउनुप-यो भनिराख्नु भएको छ। नेपालमा भूकम्प नगएको भए त्यसक्षेत्रमा लगानीका लागि हामीले केही योजना बनाएका थियौँ। तर भूकम्पपछि यसको मारमा परेका जनता र राज्यलाई कसरी राहत दिने भन्नेमा हाम्रो सारा तागत खर्च भएको छ। त्यसैले लगानीको कुरा पछि परेजस्तो देखिएको हो। भूकम्पसम्बन्धी हाम्रा परियोजनाहरु अक्टोबरसम्ममा सकिने हुनाले त्यसपछि हाम्रो शक्ति र उर्जा लगानीको क्षेत्रमा प्रयोग गर्ने हाम्रो योजना छ र यसमा साथीहरु पनि तयार हुनुहुन्छ।

सरकारले ‘नेपालको पानी जनताको लगानी’ भनेर जलविद्युतमा लगानी नीति ल्याएको छ। एनआरएनका लागि पनि यो एउटा राम्रो अवसर हुनसक्छ?

अवश्य पनि। मैले भनिसकेँ, व्यक्तिगत रुपमा त साथीहरुले ठूल्ठूला परियोजनामै लगानी गरिराख्नु भएको छ। संस्थागत रुपमा लगानी गर्ने कुरामा हामी केमा होसियार हुनुपर्छ भने लगानी भन्नेबित्तिकै मुनाफाको कुरा आउँछ। एनआरएन साथीहरु विदेशमा बसेर नेपालमा लगानी गर्दै गर्दा यसको व्यापार प्रक्रिया के हो भन्ने नबुझेका साथीहरु पनि हुनुहुन्छ। गम्भीर अध्ययन नगरी त्यस्ता साथीहरुको पैसा यहाँ ल्याएर जथाभावी लगानी गर्न गाह्रो हुन्छ। त्यसैले कति र कस्तो प्रतिफल दिन्छ भन्ने कुरामा ढुक्क नभई लगानी गर्न थालियो भने संस्थाको इमेजमा पनि धक्का पुग्ने हुनाले यसमा हामी विचार गरिरहेका छौँ। ठूलो समूहको लगानी नेपाल ल्याइसकेपछि मुनाफा हुने र जोखिम कम हुने क्षेत्रमा मात्रै लगानी गर्नुपर्छ नत्र गर्नु हुँदैन भन्नेमा हामी सचेत छौँ।

‘नेपालको पानी जनताको लगानी’ भन्नेबारे सरकारले हामीसम्म कुरा चाहिँ ल्याइपु¥याएको छ। तपाईंहरु पनि सहयोगी बन्नुस् भनेर सरकारले आग्रह गरेको छ। तर सरकारसँग गम्भीरतापूर्वक यसबारेमा वार्ता भएको छैन। आगामी दिनमा हुँदै जाला। र हामी एनआरएन साथीहरु आफैँ पनि समूह बनाएर ठूला जलविद्युत परियोजना सञ्चालन गर्न सक्षम छौँ। त्यसैले आगामी दिनमा केही ठूला परियोजना लिएर आउने कुरामा म सबैलाई आश्वस्त रहन आग्रह गर्छु।

नेपालमा तपाईंको आफ्नै लगानी चाहिँ कहाँ र कति छ?
नेपालमा चारपाँच ओटा जलविद्युत परियोजनामा म सम्बन्धित छु। सानिमा माइ हाइड्रो, बाग्लुङको सयपत्री हाइड्रो, एनआरएनले लगानी गरेको हाइड्रोको म पनि एक साझेदार हुँ। मध्यतमोर हाइड्रो पावरमा पनि म सहभागी छु। त्यसबाहेक सिमेन्ट उद्योगमा मेरो लगानी छ। सानिमा बैंकको परिणाम देखेर धेरै साथीहरुले बैंकिङ क्षेत्रमा मिलेर काम गर्ने भनिसकेपछि म पनि कमर्सियल बैंकको काममा लागिराखेको छु।

नेपालका राजनीतिक घटनाक्रममा एनआरएनएले कस्तो चासो राख्छ?
नेपालमा बस्ने नेपालीहरुको चाहना जस्तो छ, एनआरएनहरुको चाहना पनि त्यस्तै नै छ। राजनीतिक रुपमा मुलुक स्थिर हुनुपर्छ, पाँचपाँच महिनामा सरकार परिवर्तन गरेर समृद्ध, धनी नेपालको सपना पूरा हुँदैन। यो कुरामा नेपालीहरुझैँ एनआरएनहरु पनि चिन्तित छन्।

एनआरएनएको ग्लोवल कन्फरेस अक्टोबरमा हो, तर नयाँ नेतृत्वबारे चर्चा सुरु भैसकेको छ, यसपाली अलिअघि नै चुनाव लागेको हो?
एनआरएनएको नेतृत्वले स्वभाविक रुपमा मार्च वा अप्रिलसम्म काम गर्ने र त्यसपछि चुनावी वातावरण बन्ने अभ्यास छ। तर यसपटक अलिकति अगाडि भएको देखिएको हो कि भन्ने लागेको छ। अबको दिनमा चुनावी माहौल तात्दै जाने नै देखिन्छ। अब एनआरएनको नयाँ नेतृत्वमा को पुग्ने भन्ने विषयमा साथीहरुले छलफललाई घनिभूत बनाएका छन्।


यसअघि महासचिव र अहिले उपाध्यक्ष भएको नाताले तपाईं स्वभाविक रुपमा अध्यक्षको उम्मेदवार हो भन्ने धेरैको भनाइ छ, तयारी कस्तो गर्नुभएको छ?

अहिले हामी कामकै सिलसिलामा विभिन्न देश गइरहेका छौँ। म के इच्छा राख्छु भन्ने भन्दा पनि साथीहरुले के भन्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। साथीहरुले कसलाई विश्वास गर्नुहुन्छ त्यो महत्वपूर्ण हुन्छ। अहिलेसम्मको इतिहास हेर्ने हो भने तेह्र चौध सय साथीहरु काठमाडौँ आउनुहुन्छ ग्लोवल कन्फरेन्समा। ती सबै साथीहरु लगभग चिनिएकै अनुहार हुनुहुन्छ। त्यसैले उहाँहरुले के भन्नुहुन्छ भन्ने कुरा हाम्रालागि महत्वपूर्ण हो। अहिलेसम्मको रेस्पोन्स हेर्दा धेरै साथीहरुले अध्यक्षका लागि तपाईं अघि बढ्नुपर्छ भन्नु भएको छ। तर आजको मितिसम्म हामी चुनाव होइन, थालिएको परियोजना पूरा गर्नका लागि लागिपरेका छौँ। अबका दिनमा चुनावी माहौल तात्दै जाँदा हामीमध्ये इच्छुक साथीहरुले आआफ्नो इच्छा जाहेर गर्ने क्रम सुरु होला।

सर्वसम्मत नभई चुनाव नै हुने स्थितिमा पनि तपाईं अध्यक्षको उम्मेदवार हो कि होइन?
चुनाव भन्नेबित्तिकै पहिले सर्वसम्मतिको कुरा आउँछ। त्यसमा मिलेन भने मतदान गर्ने हो। म संस्थाको महासचिव थिएँ, अहिले उपाध्यक्ष छु। यो पटक मात्रै होइन अघिल्लै पटकदेखि साथीहरुले तपाईं अघि बढ्नुस भन्नुभएको थियो। हामी तपाईंको साथमा छौँ भन्ने साथीहरु धेरै थिए। अहिले पनि साथीहरुले भनिराख्नु भएकाले म स्वाभाविक रुपमा अध्यक्षको उम्मेदवार हुन्छु। मैले बोकेका एजेण्डालाई विश्वसनीय ढंगले कसैले ल्याउँछ कि ल्याउँदैन त्यो पनि म हेरिरहेको छु। एनआरएनएको पद्धतिअनुसार फेब्रुअरी–मार्चमै कसैले उम्मेदवारी घोषणा गर्दैन। त्यसैले म अहिले नै उम्मेदवारी घोषणा गरिहाल्दिनँ। तर संस्थाको नेतृत्वका लागि म तयार छु। साथीहरुले गर्नुभएको विश्वासलाई काँधमा लिन तयार छु।

तपाईंले बोकेका एजेण्डा चाहिँ के के हुन्?
म नेतृत्वमा आउनु वा नआउनुभन्दा पनि एनआरएनएको एजेण्डा के हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। तपाईंले नै भन्नु भयो, २७ मेगावाटको परियोजना सानो भएन र? निश्चितै रुपमा त्यो परियोजना सानो थियो। हाम्रो हैसियत त्यति मात्रै होइन। त्यसैले एनआरएनएको हैसियत प्रमाणित गर्ने एजेण्डा आगामी दिनमा बन्नुपर्छ भन्ने मलाई लाग्छ।

हामीले संस्थाभित्र चुनावी विकृतिलाई पनि रोक्नुपर्छ। काठमाडौँ आएर चौध सय मान्छेले छानेको नेतृत्व ५० लाख एनआरएनको प्रतिनिधि हुने अवस्था अब रहनु हुँदैन। ५० लाख मान्छेसम्म यसलाई पु¥याउने हो भने अहिलेको प्रविधिको जमानामा अहिलेको प्रविधिको जमानामा आफू बसेकै ठाउँबाट भोट दिने व्यवस्था मिलाउनु पर्छ। यसले धेरै विकृति कम गर्ने भएकाले एनआरएन त्यतातिर अघि बढ्नुपर्छ। अहिले हामीमाथि विभिन्न आरोप छन्– उम्मेदवारहरुले टिकटको पैसा तिरिदिएर मान्छे ल्याउने, होटलको पैसा तिरिदिनेजस्ता कुरा छन्। यसलाई निराकरण गरेर एनआरएन पवित्र र सेवामूलक संस्था हो भन्ने स्थापित गर्नुपर्छ।

त्यस्तै ठूलो संस्था भइकन पनि एनआरएनएको आर्थिक आधार त्यति बलियो छैन। अहिलेसम्म अध्यक्षका लागि पैसा भएको मान्छे मात्रै खोज्नुपर्ने अवस्था छ। स्वाभाविक रुपले अहिलेकै तरिकाले हामी भोट माग्न गयौँ भने यसको आर्थिक हैसियत के छ त भनेर खोज्छन्। चुनाव जितेपछि ७५ वटा राष्ट्रिय समन्वय समितिमा जानु पर्यो। एक ठाउँका लागि एक हजार डलर मात्रै छुट्याउँदा पनि ७५ हजार डलर खर्च भयो। त्योअनुसारको समय पनि निकाल्नुपर्यो। त्यो समय र पैसा निकाल्न नसक्नेलाई मान्छे त राम्रै हो तर कसरी भर पर्ने भन्ने स्थिति छ। त्यसैले आर्थिक रुपले संस्थालाई मजबुत बनाउनुपर्छ। संस्था बलियो भयो भने सधैँभरी व्यापारी खोजिराख्नु पर्दैन।