१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तरकारीको मूल्य चार वर्षयताकै न्यून

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार १४:००

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून भएको छ । उत्पादनमा वृद्धि तथा भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएको कारण मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो चार वर्ष भन्दा केही तरकारीको मूल्यमा भारी गिरावट आएको छ । आलु, गोलभेडा, काउलीलगायत नियमित उपभोग गरिने तरकारीको मूल्य घटेको हो । मौसम लगायत पर्याप्त रूपमा भारतबाट आलु भित्रिने क्रम बढेकोले आलुको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति उपनिर्देशक विनय श्रेष्ठका अनुसार आलुको मूल्य गतवर्ष १९ (सेतो) र २७ (रातो) रुपैयाँँ प्रतिकिलो थोक कारोबार भएकोमा हाल क्रमशः १६ र २२ रुपैयाँँ प्रतिकिलोमा झरेको छ । उपत्यकामा तरकारीको खपत बढेपछि टमाटर, आलु, बन्दा, काउली, मुला, सिमी, साग, भिन्डी, स्कुसलगायत अधिकांश तरकारीको मूल्य घटेको हो । सिजनका तरकारी आलु, टमाटर, काउली, बन्दा, मुला, साग, स्कुस लगायत नेपाली किसानले उत्पादन गरेका तरकारी नै बढी आउन थालेको छ तर, यीनै तरकारी भारतबाट पनि बढी मात्रामा आउन थालेकाले मूल्य घटेको व्यवसायीले बताए ।
व्यवसायी समितिको तथ्यांकअनुसार गत वर्ष यही सिजनमा प्रतिकिलो ४४ रुपैयाँँ प्रतिकिलोमा थोक कारोबार भएको ठूलो गोलभेडाको मूल्य ५० प्रतिशतले घटेर २२ रुपैयाँ प्रतिकिलोमा झरेको छ । सानो टमाटरको मूल्य पनि गत वर्ष २८ रुपैयाँ प्रतिकिलो रहेकोमा हाल १५ रुपैयाँ किलोमा थोक कारोबार भएको छ । २०७१ सालको यही सिजनमा सानो र ठूलो टमाटरको थोक मूल्य प्रतिकिलो १६ र २८ रुपैयाँ थियो भने २०७० मा प्रतिकिलो ३१ र ३७ मा थोक कारोबार भएको तथ्यांक छ ।