१५ चैत्र २०८०, बिहीबार
Follow Us

थ्रेसहोल्ड हटाउने होइन: अध्यक्ष विजुक्छे

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार १४:०७

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको अवसरमा ख्वपः उच्च माध्यामिक विद्यालयमा आजबाट सुरु भएको बृहत शैक्षिक एवम् विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
थ्रेसहोल्ड नराख्दा अस्थिर सरकार बन्छ भन्नु गलत भएको बताउँदै उहाँले स्थिर सरकार बनाउन साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । “थ्रेसहोल्डले अस्थिर सरकार बन्छ भन्नु गलत हो, नेपाली काँग्रेस, एमाले र माओवादीले नै सरकार बनाउँदा साना पार्टीलाई सरकारमा लगेका हुन्, अस्थिर सरकारको जिम्मेवारी पनि तीन दलले लिनुपर्छ”–बिजुक्छेले भन्नुभयो “ठूला दलले आफ्नो स्वार्थ पुरा गर्न साना दललाई सरकारमा लैजाने, अनि थ्रेसहोल्ड नराख्दा अस्थिरता आउँछ भन्नु गलत हो ।”
कार्यक्रममा उहाँले ख्वपः विश्वविद्यालयको स्वीकृतिको काम अब अगाडि बढ्ने बताउँदै उहाँले सम्बन्धन नपाए भक्तपुरका जनता आन्दोलनमा होमिन तयार भएको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् सांसद प्रेम सुवालले भक्तपुरमा सस्तोमा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ सम्पूर्ण भौतिक पूर्वाधार पुरा गरेपनि ख्वपः विश्वविद्यालयले अझै सम्बन्धन नपाउनु बिडम्बना भएको बताउनुभयो ।
भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष्य लाभ मिल्ने गरी आयोजना भएको तीनदिने प्रर्दशनीमा विभिन्न सङ््कायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रर्दशनी गरिएको कलेजमा प्रचार्य रुपक जोशीले जानकारी दिनुभयो । ख्वपः उमाविका प्राचार्य एवं प्रर्दशनीका सहसंयोजक प्रकाशकुमार श्रेष्ठले कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीले तयार पारेका १२८ वटा स्टल राखिएको बताउनुभयो । प्रर्दशनी अवधिभर चार जिल्लाका १३५ भन्दा बढी विद्यालयका १५ हजार विद्यार्थी, अभिभावक र बुद्धिजिवीले अवलोकन गर्ने लक्ष्य लिएको छ ।