१५ चैत्र २०८०, बिहीबार
Follow Us

टेरियालाई गृह जिल्लामा भव्य स्वागत

नेपालब्रिटेन डट कम्
२६ माघ २०७३, बुधबार ०६:००

तिलोत्तमा । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् ।
बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन् । उनले हालै मात्र कलर्स टिभीबाट प्रसारण भएको ‘झलक दिखला जा’ को उपाधि समेत प्राप्त गरेकी थिइन् ।
फाउन्डेसनका अध्यक्ष कृष्णबहादुर फौजामगरले टेरियाले उपाधि जित्दा स्वदेश तथा विदेशबाट नेपाली दाजुभाइ दिदीबहिनीले एसएमएस र अनलाइन भोट गरेर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपाल र नेपालीको इज्जत विदेशी भूमिमा पुगेर राखेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले टेरियाको जित सबै नेपालीको गर्व र उपलब्धि रहेको बताउनुभयो । उहाँले नेपाली परम्पराका नृत्यलाई विदेशी भूमिबाट नृत्यको माध्यमबाट अझ प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदीले टेरिया फाउन्डेसनसँग आवश्यक परे सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले जिल्ला विकास समितिले आवश्यक परेमा फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले टेरियालाई बधाई दिँदै फाउन्डेसनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।