६ बैशाख २०८१, बिहीबार
Follow Us

आईजीपी नियुक्तिका लागि गृहमन्त्री निधि र पार्टी सभापति देउवाबीच चर्काचर्की

नेपालब्रिटेन डट कम्
२६ माघ २०७३, बुधबार १३:२२

काठमाडौं । आकस्मिक कुनै घटना घटेन भने भोलि बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आईजीपीको सिफारिस गर्नेछ । तर कसलाई बनाउने भन्ने निर्णय अहिलेसम्म गृहमन्त्रीले विमलेन्द्र निधिले गरिसकेका छैनन् । गृहमन्त्री निधिले अन्तिम अवस्थामा कसको नाम सिफारिस गरेर मन्त्रिपरिषद्बाट पास गराउने त्यसको निक्र्योल बिहीबार विहान मात्र हुने बताइएको छ । यद्यपि एक नम्बरमा रहेका नवराज सिलावाल र तीन नम्बरमा रहेका जयबहादुर चन्दमध्ये एकजना हुने लगभग पक्काजस्तै भएको छ ।
आगामी निर्वाचनलाई मध्यनजर राखेर आईजी नियुक्त गर्नुपर्ने कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन गृहमन्त्रीमाथि परेको छ भने सिनियारिटीको आधारमा आईजीपी बनाउनुपर्ने अडानमा गृहमन्त्री रहेको बुझिएको छ ।
केही दिनअघि कांग्रेस संसदीय दलमा आईजीपी कसलाई बनाउने भन्ने बारेमा गुहमन्त्री र पार्टी पदाधिकारीबीच बैठक समेत गरिएको थियो । सो बैठकमा देउवा र निधिबीच चर्काचर्की परेको थियो । यता देउवाले जयबहादुर चन्दलाई (आईजीपी) बनाउन बारम्बार दवाब गरेपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न भन्दै आएका छन् । सुदुपश्चिमका सांसद तथा पार्टीका नेताहरुले चन्दलाई (आईजीपी) बनाउन गृहमन्त्री निधीलाई भेटेरै बारम्बार लबिङ गर्न थालेपछि गृहमन्त्री आक्रोशित बनेका छन् ।
(आईजीपी) को बनाउने भन्ने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि गृहमन्त्रीकै पक्षमा उभिएका छन् । पहिलो बरीयातमै रहेकालाई (आईजीपी) बनाउँदा आलोचना खेप्न नपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्री सिलवालको पक्षमा देखिएका हुन् । हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी यही फागुन तीन गते सकिंदैछ । महानिरीक्षक चयनको किचलोकै कारण पदावधी सकिनुभन्दा एक महिना अघि नै महानिरीक्षक बिदामा बस्ने चलन समेत तोडिएको छ ।