१३ बैशाख २०८१, बिहीबार
Follow Us

सामाजिक सञ्जालबाट सेयर निष्काशित

नेपालब्रिटेन डट कम्
२७ माघ २०७३, बिहीबार १३:१९

काठमाडौं । नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्काशन गरेको छ । आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुन सक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रतिकित्ता २३ अमेरिकी डलरमा बिक्री गुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा दुई सय ९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ, त्यसभन्दा माथि भने व्यक्तिको इच्छानुसार सेयर खरिद गर्न सकिनेछ ।
बिक्रीका लागि छुट्याइएको सेयर सगुनको वेबसाइट www.sagoon.com/invest मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । नेपाल बाहिर रहेका नेपालीले सो सेयर खरिद गर्न पाउनेछन् तर कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न नपाउने कम्पनीले जनाएको छ ।
सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकन जब्स एक्ट २०१२ को प्रावधानबमोजिम नेपाली प्रविधि र लगानीले समाजका विभिन्न पक्षमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो “सगुनका समर्थक तथा शुभेच्छुकका लागि हाम्रो सपनामा विश्वास गर्नुभयो । धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरू लाभान्वित हुनुहुनेछ”, उहाँले भन्नुभयो ।
अमेरिकन जब्स एक्ट अनुसार कुनै पनि ‘मिनी आइपिओ’ ले पाँच करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् तर सगुनले यस वर्ष रु दुई अर्ब बराबरको सेयर खोलेको छ, जुन कुल सेयरको २१ प्रतिशत हो । सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता किन्नुपर्ने हुन्छ ।
सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३.७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसै अनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । हाल नेपाल, भारत र अमेरिकामा कार्यालय रहेको सगुनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि सेयरकर्ताको लगानी बढाउन र सेवालाई थप प्रभावकारी बनाउन शाखा विस्तार गर्ने तयारी गरेको छ ।