१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिका प्रवेशमा लगाएको प्रतिवन्ध विरुद्ध अदालतको आदेश

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार ०७:०७

लस एन्जेल्स् । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमानहरुको बाहुल्यता रहेका सात देशका व्यक्तिहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने निर्णयको विरुद्धमा फैसला गरेको छ । नयाँ राष्ट्रपतिको विवादास्प्रद कार्यकारी निर्णयलाई सान फ्रान्सीस्को प्रान्तीय पुनरावेदन अदालतले तत्कालका लागि रोक लगाएको हो । आफ्नो निर्णय विरुद्ध अदालतको आदेश आएपछि राष्ट्रपति ट्रम्पले ट्विटमा लेख्नु भएको छ, “हामी पुनः अदालतमा भेटौला, देशको सुरक्षा अझैपनि दाउमै छ ।” उहाँको यो भनाईले सो मुद्धा अब सर्वोच्च अदालतमा लगिने संकेत गरेको छ ।
ट्रम्पले इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका जनतालाई ९० दिनको लागि प्रवेशप्रतिवन्ध गराउनु भएको थियो । राष्ट्रपति ट्रम्पले गत जनवरी २७ मा आतङ्ककारी गतिविधिलाई नियन्त्रण गर्न भन्दै मुसलमान बाहुल्यता रहेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउनु भएको थियो ।
अदालतले भने ट्रम्पले भनेजस्तो ती सात देशहरुबाट आतङकवादीहरुको खतरा रहेको भन्ने पर्याप्त प्रमाण नभएको तर्क गरेको छ । अदालतको पछिल्लो निर्णयपछि अदालत लोकप्रिय भएको छ भने ट्रम्प फेरी आलोचनाको पात्र बन्नु भएको छ ।