८ बैशाख २०८१, शनिबार
Follow Us

विद्यालय पुनःनिर्माणका लागि रु २५ लाख जुट्यो

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार ०७:१०

म्याग्दी । भूकम्पले भत्किएको म्याग्दीको भगवती–३ मा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि रु २५ लाख आर्थिक सहयोग जुटेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएको विद्यालयको दुईकोठे भवन पुनःनिर्माणका लागि समुदाय, प्रवासी र सरकारी निकायबाट सो सहयोग जुटेको विद्यालयका प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १३ लाख ५० हजार बजेट अपुग भएपछि स्थानीयवासी, पूर्वविद्यार्थी र अन्य सङ्घसंस्थाबाट थप सहयोग जुटाएर भवन निर्माण गर्न लागिएको प्रअ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भवन पुनःनिर्माणका लागि जिविसले सांसद विकास कोषबाट रु तीनलाख ५० हजार, गाविस कार्यालयले रु तीनलाख १० हजार र समुदाय स्तरबाट चारलाख २० हजार प्राप्त भएको हो ।
विद्यालयको भवन पुनःनिर्माणका लागि भगवती–७ का लोकबहादुर भण्डारीले रु एकलाख ११ हजार, ओवीन्द्रराज शर्माले रु ५५ हजार एकसय ११ सहयोग गर्नुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा भवन भत्किएपछि पठनपाठन सञ्चालनमा समस्या भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको पहलमा आर्थिक स्रोत जुटाएर दुईकोठे पक्की भवन निर्माण कार्य भइरहेको छ ।