१३ बैशाख २०८१, बिहीबार
Follow Us

बैंकहरुद्वारा गाडी, घरजग्गा र सेयर धितो कर्जामा रोक

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार ०७:५२

काठमाडौं । वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समयका लागि ऋण लगानी रोक्ने भएका छन् । अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संघका प्रमुखहरु बोलाएर चेतावनी दिएपछि बिहिबार बैंकर संघले गाडी र घरजग्गामा ऋण लगानी रोक्ने निर्णय गरेको हो । उनीहरुले शेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन् । चालु पूँजीको हकमा भइरहेको क्षमता अनुसार चल्नलाई ऋण दिने तर, क्षमता बढाएर काम गर्नका लागि ऋण नदिने निर्णय पनि बैंकहरुले गरेका छन् । यसैबीच बजारमा देखिएको तरलता अभावबारे उपप्रधान एवं अर्थमन्त्री कृष्ण वहादुर महराले अर्थसचिव शान्तराज सुवेदी र राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालसँग छलफल गरेका छन् । भेटमा गभर्नर नेपालले मनोमानी ढंगले ऋणको व्याजदर नवढाउन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिईसकेको र मौद्रिक नीतिका अन्य उपायहरु अवलम्वनको तयारी गरिएको अर्थमन्त्रीलाई अवगत गराएका छन् । तरलता अभावको बहानामा वैंक तथा वित्तिय संस्थाले एकैपटक ५ प्रतिशतसम्म व्याजदर वढाएपछि व्यवसायीहरुले विरोध गर्दै आएका छन् ।