८ बैशाख २०८१, शनिबार
Follow Us

स्व. बुढाथोकीको परिवारलाई सहयोग गर्नेहरुप्रति धन्यवाद

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार ११:३१

लण्डन । गत वर्ष लण्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको परिवारलाई सहयोग पुराउनुहुने सबैलाई उनका परिवारजनले आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
रुकुम जिल्ला, रुकुमकोट जन्म भइ यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टको रुपमा कार्यरत स्व. विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत अक्टोबर १२ का दिन हृदयाघातका कारण निधन भएको थियो। उहाँको अन्त्येष्टि तथा परिवारको सहयोगार्थ १०,००० पौण्ड भन्दा बढी संकलन भएको र खर्च कटाइ बचेको रकम उहाँकी छोरीलाई हस्तान्तरण गरिएको स्वर्गीय बुढाथोकीकी सहकर्मी माला घर्तीमगर तथा उहाँका पति वीरप्रसाद घर्ती मगरले बताउनुभयो।
उहाँहरु दुबैजनाको पहलमा विष्णुकुमारी बुढाथोकीकी छोरी प्रियाश्री तथा छोरा प्रितमप्रतापलाई नेपालबाट युके बोलाइएको थियो।
स्व. विष्णुकुमारी बुढाथोकीको परिवारको सहयोगार्थ राप्ती समाज युकेबाट ३,६२९ पौण्ड, एनएचएस स्टाफ वाटफोर्डबाट २,५०० पौण्ड, वाटफोर्ड नेपाली कम्युनिटीबाट २,२२१ पौण्ड, क्षेत्री समाज युकेबाट १,५४७ पौण्ड, बकेट कलेक्सनबाट ३१३ पौण्ड, ब्लुबेल वार्डस वाटफोर्डबाट ३१० पौण्ड तथा प्लमस्टीडका शुभचिन्तकहरुबाट २६५ पौण्ड प्राप्त भएको उहाँको परिवारले जनाएको छ। सबै सहयोगदाता संघसंस्था तथा महानुभावहरुप्रति उहाँको परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
आफ्ना छोराछोरीको पढाइकालागि स्वर्गीय विष्णुकुमारी बुढाथोकीले रातोदिन खटेर काम गरेको तर उहाँको असामयिक निधनपछि उनीहरुको पढाइ नरोकियोस् भन्नेतर्फ आफुहरु चिन्तित बनेकेा वीरप्रसाद घर्तीमगर र माला घर्तीमगरले बताउनुभयो।
हाल नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस दोश्रो वर्षमा अध्ययरत प्रियाश्री बुढाथोकीले बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको स्नेह र सहयोगबाट आफु भावविभोर भएको बताइन्। उनी आफ्नो पढाइ निरन्तर गर्न नेपाल फर्कीसकेकी छन्।