७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच श्रेष्ठ निवासमा छलफल

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार १३:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच वार्ता भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास ललितपुरमा अपरान्ह करिब एक घण्टा छलफल भएको हो । उपाध्यक्ष भीम रावललाई लिएर श्रेष्ठ निवास पुगेका ओलीले तत्काल मिति घोषणा गरेर जनतालाई स्थानीय निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए । दाहालले भने निर्वाचन गराउने नै हो भन्दै संविधान संशोधन टुङ्ग्याउदा मधेसमा सहज वातावरण हुने जवाफ दिएको बताइएको छ । छलफल निर्वाचनकै विषयमा केन्द्रित रहेको तर, प्रधानमन्त्रीबाट प्रष्ट प्रतिबद्धता नआएको रावलले जानकारी दिए । प्रधानमन्त्री दाहालले निर्वाचनको तयारी भइरहेको तथा मधेसी मोर्चा र एमालेसँग छलफलपछि मात्रै मिति घोषणा गरिने जानकारी दिएको तर आफूहरुले भने तत्काल मिति घोषणा गरेर निर्वाचनको वातावरण बनाउन सुझाव दिएको रावलले बताए । संविधान संशोधनअघि निर्वाचनको मिति घोषणा गर्न नहुने मधेसी मोर्चा र तत्काल घोषणा गर्नुपर्ने एमालेको दबाबबीच प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको हो ।