१५ बैशाख २०८१, शनिबार
Follow Us

कार्कीलाई महाभियोग लगाइरहनु नपर्ने प्रतिवेदनको निष्कर्ष

नेपालब्रिटेन डट कम्
२८ माघ २०७३, शुक्रबार १३:१९

काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको महाभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लागेको विभिन्न उजुरीहरुलाई दोषी ठहर गर्दै तयार पारेको प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई बुझाएको छ ।
तत्कालीन अख्तियार प्रमुख दोषी देखिएपनि महाभियोग लगाइरहनु नपर्ने भन्दै समितिले सभामुख समक्ष प्रतिवेदन पेश गरेको हो । संसदबाट महाभियोग समितिमा गएको तत्कालीन अख्तियार प्रमुख कार्कीविरुद्धको उजुरीलाई समितिले उपसमिति बनाएर छानविन गरेको थियो । महाभियोग सिफारिस समितिले गठन गरेको उपसमितिले १५ दिनभित्र लोकमानविरुद्ध सम्पूर्ण उजुरी सत्य भएको प्रतिवेदन समितिमा पेश गरेको थियो । तर, अदालतले अख्तियार प्रमुखलाई अयोग्य घोषित गर्दै पदबाट बर्खास्त गरेपछि महाभियोग लगाउन नपर्ने निष्कर्षसहितको प्रतिवेदन उपसमितिले समतिमा पेश गरेको थियो । समितिमा आएको प्रतिवेदनलाई शुक्रबार सभामुख समक्ष पेश गर्दै समिति सदस्य रामनारायण विडारीले महाभियोग नलगाए पनि पदमा बस्दा गरेका गलत काममा भने मुद्दा लगाउन सकिने बताउनुभयो । समितिले पेश गरेको प्रतिवेदन बुझदै सभामुख ओनसरी घर्ती मगरले प्रतिवेदनलाई संसदमा पेश गरिने बताउनुभयो । प्रतिवेदन अब बस्ने संसदमा पेश हुनेछ । अख्तियारका तत्कालीन प्रमुख कार्कीविरुद्ध पदमा हुँदा गरेको अनुचित कार्यमा मुद्दा लगाउने या नलगाउने भन्ने विषयमा अव सदनले नै निर्णय गर्ने छ ।