१३ बैशाख २०८१, बिहीबार
Follow Us

आउँदो वर्षदेखि नेपाल गुलाफ फुलमा आत्मनिर्भर बन्ने

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार ०४:५५

काठमाडौं । नेपाललाई गुलाफ फूल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप पुष्प व्यवसायीले नयाँ परियोजना सञ्चालनमा ल्याउने भएका छन् । अन्तर्राष्ट्रिय प्रणय दिवस सप्ताह सुरु हुनै लागेका बेला पुष्प व्यवसायीहरुले नयाँ परियोजना सञ्चालनमा ल्याउने जानकारी गराएका हुन् ।
पुष्प व्यावसायीको पहलमा चार करोड रुपैयाँको लागतमा उपत्यकाबाहिर २५ हजार स्क्वायर फिट क्षेत्रफलमा गुलाफ फूलको फार्म खुल्ने भएको छ । जसका लागि टेण्डर प्रस्ताव आह्वान गरिसकेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । आगामी तीन बर्षभित्रमा गुलाफमा मुलुक आत्मनिर्भर बनाउने लक्ष्य स्वरुपमा नयाँ परियोजना ल्याउन लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कुसजुका अनुसार उच्चस्तरिय प्रविधिसहितको सो फार्ममा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ ।
उनका अनुसार हाल काठमाडौं उपत्यका, नुुवाकोट, चितवनजस्ता पहाडी जिल्लामा मात्र गुलाफ फुल्ने भएकाले जाडो मौसममा उत्पादन बढाउन नसकेको एसोसिएनसनको भनाइ छ । आठ बर्ष अगाडी मुलुक गुलाफ उत्पादनमा आन्मनिर्भर रहेको थियो । एक अर्बको लगानीमा २०० रोपनी क्षेत्रफल जग्गामा खुलेको काठमाडौंको सुन्दरीजलस्थित नयाँपाटीमा करिब चार लाख विरुवा थिए । आधुनिक प्रविधियुक्त बाहैमास उत्पादन हुने उक्त फार्म मजदुर हडतालका कारण बन्द भएपछि गुलाफमा परनिर्भता बढ्दै गएको छ ।
नेपालमा गर्मी महिनामा मात्र गुलाफ उत्पादन हुने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाई छ । गुलाफको उत्पादनका लागि न्यूनतम ८ देखि अधिकतम ३० डिग्री सेल्सियसको तापक्रम चाहिने भएकाले जाडो महिनामा १५ प्रतिशत मात्र गुलाफ फुल्छ । माग अनुसार उत्पादनले धान्न नसकेका कारण भारतबाट आयात गर्नुपरेको पुष्प व्यवसायीहरुको भनाई छ । हरेक फेबु्रअरी ९ देखि १४ तारिखसम्मको भ्यालेन्टाइन सप्ताहमा गुलाफको अध्याधिक माग हुने गरको छ । यो बर्ष पनि स्वदेशी उत्पादनले माग धान्न नसक्ने अवस्था भएपछि भारतबाट पचास लाख बराबरको एक लाखप्रति स्टिक गुलाफ ल्याइने भएको छ ।
सीता पोखरेलको रिर्पोट