१२ बैशाख २०८१, बुधबार
Follow Us

गाईको संरक्षणको लागि चितवनमा गोरक्षा महायज्ञ

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार १३:४९

चितवन । यही २०७३ फाल्गुण ३ गते मङ्गलचौंथीको दिनदेखि १३ गते महाशिवरात्रिको पावन दिनसम्म नारायणी नदीको किनार नारायणगढ चितवनमा विराट् गोरक्षा महायज्ञ हुन गइरहेको छ । यो विश्वकै ईतिहासमा पहिलोपटक नेपालमा हुन लागेको हो ।
देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकले बताएका छन् । स्थानीय जातका गोवंशको संरक्षण जरुरी रहेको कुरा सबैपक्षको बुझाइ रहेको पाइएको छ भने देशव्यापी रुपमा गो वंशको संरक्षणको लागि गौ सेवा कोषको स्थापना समयको माग पनि रहेको गाईका शुभचिन्तकहरु बताउँछन् ।
जुन गाई असली रुपमा पूज्य एवं धर्मशास्त्रले गरेको परिभाषा अनुरुपका हुन् तिनै गाईको अपहेलना हुन थालेको, त्यस्ता गाईहरुको पालनपोषण प्रति कसैको पनि ध्यान केन्द्रित हुन नसकेको र अन्ततः यस भूमिबाट त्यस्ता गाईहरु लोप भएरै जाने खतरा बढेको तर्फ चिन्ता व्यक्त गर्दै सो विराट् गोरक्षा महायज्ञ मूल आयोजक समितिका कार्यवाहक संयोजक विनु रायमाझी पौडेलले देश भरीका स्थानीय जातिका गाई जसलाई वैदिक गाई पनि भनिन्छ को वंश बृद्धि एवं संरक्षणको लागि अक्षयकोषको रुपमा गौ सेवा कोष स्थापना गर्ने सङ्कल्पको साथमा सो महायज्ञ गर्न लागेको बताउनु भयो ।
महायज्ञ अन्य कुनैपनि खालको सांप्रदायिक तथा निश्चित क्षेत्र वा वर्गको स्वार्थ निहित अभिष्ट पूरा गर्न नभएर विशुद्ध रुपमा देशभरीका वैदिक गाईको संरक्षणको स्वच्छ प्रतिज्ञाले हुन लागेको का.संयोजक पौडेलको भनाई छ । महायज्ञमा लामा र बज्राचार्य गुरुहरु पनि समावेश गरिएको र ॐकार परिवारको साझा महायज्ञ हुने बताइएको छ ।