१५ बैशाख २०८१, शनिबार
Follow Us

लसएन्जलसबाट मात्रै ३७ विदेशी निकाला, सयौं कागजपत्रबिहिन पक्राउ

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार २१:३४

पुरुषोत्तम ढकाल । लसएन्जलस । अध्यागमन अधिकारीहरुले मंगलबार देखि शुक्रबारसम्म विभिन्न राज्यमा गरेको धरपकडमा अमेरिकामा गैर कानुनी तवरले बसोबास गर्दै आएका अपराधिक पृष्ठभूमिका सयौंको संख्यामा रहेका कागजपत्र बिहिनहरु पक्राउ पर्नुको साथै ३७ जना देश निकालामा परेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका अपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई देश निकाला गर्ने योजना अनुसार यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट अपराधिक पृष्ठभूमिका कागजपत्र बिहिनहरुलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीको दावी छ ।

अध्यागमन अधिकारीहरुका अनुसार अपराधिक पृष्ठभूमिका कागजपत्रबिहिनहरुलाई केन्द्रमा राखेर बासोस्थान र कामगर्ने स्थानहरुमा छापा मारिएको र पक्राउ परेकाहरु मध्य केहीलाई देश निकाला समेत गरिएको छ ।

अध्यागमन अधिकारीहरुले धरपकड सुरु गरे लगत्तै अमेरिकामा रहेका कागजपत्रबिहिनहरुमा त्राश र कोलाहल मच्चिएको छ । यस अघि राष्ट्रपति ट्रम्पले कम्तीमा ३० लाख अपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई तत्कालै देश निकाला गर्ने बताएका थिए ।

अध्यागमन अधिकारीहरुले ६ राज्यका फरक शहरहरु, एटलान्टा, शिकागो, न्युयोर्क, लस एन्जलस, नर्थ क्यारोलिना र साउथ क्यारोलिनाको विभिन्न स्थानमा छापा मारेर अपराधिक पृष्टभूमिका सयौको कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिइएको पुष्टी गरेका छन् । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ताले अध्यागमनको छापालाई नियमति भनेको छिन् । अध्यागमन अधिकारीहरुले सोमबारदेखि शुक्रबारसम्म नियन्त्रणमा लिइएका सयौं कागजपत्रबिहिनहरुमा अधिकांस दक्षिण अमेरिकी मूलुकका नागरिकहरु रहेका छन् ।

अध्यागमन अधिकारीहरुले क्यालिफोर्निया, फ्लोरिडा, टेक्सास, कन्सास र नर्थ भर्जिनियामा मंगलबारदेखि अपराधिक पृष्टभूमिका कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिन आफ्नो गतिविधि तीब्र पारेको थियो । अध्यागम अधिकारीहरुले शुक्रबार लसएन्जलसमा काम गर्न जाँदै गरेका र घरमा बसिरहेका कागजपत्रबिहिनहरुलाई समेत पक्राउ गरेर हिराशतमा राखेको अधिकारवादीहरुको दावी छ ।

लसएन्जलस स्थित फिल्ड डाइरेक्टर डेभिड मरिनले १६० जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये ७५ प्रतिशत आपराधिक पृष्ठभूमिका रहेको र अन्यका हकमा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरु रहेको बताएका छन् । लस एन्जलसमा पक्राउपरेका मध्य ३७ जनालाई शुक्रबार रातीनै अमेरिकाबाट देश निकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जानकारी दिएका छन् ।