१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टर्कीमा सैन्य ‘कू’को असफल प्रयास

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७३, शनिबार १५:११

इस्लानबुल । टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ ।
सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब ३ हजार सैनिकलाई पक्राउ परेका छन् । टेलिभिजन सम्बोधन गर्दै टर्किस प्रधानमन्त्री बिनाली यिदिड्रिमले कु को प्रयासलाई प्रजातन्त्रको लागि कालो धब्बा भएको र यसका योजनाकारहरुलाई न्यायको कठघरा उभ्याइने प्रतिबद्धता व्यक्त गरे ।
कु को योजनामा संलग्न १ सय ६१ जना मारिएको र १४ सय ४० जना घाईते भएका छन् । कू को प्रयासमा संलग्न २८ सय ३९ जना सैनिकलाइ नियन्त्रणमा लिइएको छ । कु को प्रयास हुंदा राष्ट्रपति रिसेप तैयिप एर्दोगान तटिय शहर मारिमारिसमा थिए । प्रधानमन्त्रीले कु को प्रयास नियन्त्रणमा लिइएको बताएपछि उहां टर्कीस विमानस्थलमा देखिएका थिए ।
सैन्य कू को प्रयासलाई राजद्रोह भन्दै राष्ट्रपति एर्दोगानले आफ्नो सरकारले नियमित काम गरिरहेको बताए । टर्कीस सेनाको एउटा समूहले शुक्रवार रातभर राजधानी अंकारा, इस्लानबुललगायतका शहरमा बन्दुक र विष्फोट पदार्थ पड्काउँदै, ट्यांक र हेलिकोप्टरको समेत प्रयोग गरी निर्वाचित सरकारलाई सत्ताच्युतको प्रयास गरेको थियो ।

3
मध्य इस्तानबुको ताक्सिम स्वायरमा व्यापक झडप भएको थियो भने विद्रोही समुहले उडाएको हेलिकोप्टर सरकार समर्थित सेनाले खसालेको थियो । कु को प्रयास गर्ने सेनाको समुहले बन्दी बनाएका सेना प्रमुख हुलुसी अकरलाई उद्धार गरिएको बताइएको छ ।
अंकारामा रहेको संसद् भवन र राष्ट्रपति निवासमा आक्रमण गरिएको थियो । संसद् परिसरमा कम्तिमा एउटा बम विष्फोट गराइए पनि सांसदहरु सुरक्षित रहेको जनाइएको छ । करिब २ सय सेनाले सैन्य मुख्यालय छाडेर प्रहरी समक्ष आत्मसमर्पण गरेको सरकारी समाचार एजेन्सी एनाडोलुले जनाएको छ । अंकारा र अर्को मुख्य शहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन भएका थिए ।

1
एक टिभी स्टेसनलाई नियन्त्रणमा लिँदै कु पक्षधर सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका थिए ।
उनीहरुले टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरेका थिए । तर नेतृत्वविहिन जस्ता देखिएको सैन्य कू को प्रयास लामो समय टिकेन । यसपछि आत्मसमर्पण गर्न थालेका कु समर्थित सेनालाई जनताले कुट्न थालेका थिए । विभिन्न सडकमा हतियार, सैन्य पोशाक लगायतका सैन्य सामग्री बेवारिसे बनेको अन्तर्राष्ट्रिस सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।
सैन्य कू को असफल प्रयासमा कसको संलग्नता छ भन्ने खुल्न सकेको छैन । तर राष्ट्रपति एर्दोगानको पछिल्लो सुधारको योजना र छिमेकी सिरिया गृहयुद्धको प्रभावका विषयलाई लिएर टर्की विभाजित रहेको विश्लेषण गरिन्छ ।

2
टर्कीमा पहिलो पटक सन् १९६० मा युवा सैन्य अधिकारीहरुले चेन अफ कमाण्ड बाहिर बसेर प्रजातान्त्रिक सरकारविरुद्ध सैन्य कू गरेका थिए । त्यसपछि सन् १९७१, १९८०, १९९७ मा विभिन्न नाममा सैन्य कू गरिएका थिए । (एजेन्सी)