१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘चन्दलाई तत्काल आईजीपी नबनाउ, डिआईजी बढुवा फाइल लिएर सर्वोच्चमा आऊ’

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार ०९:१४

काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएपछि
आजैदेखि अवकास पाएका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवाहक दिएर विदा भए । महानिरीक्षक अर्याल ३० वर्ष सेवा अवधि पुगेकाले आजैदेखि उनी विदा भए भने डा. पोखरेल प्रहरी अस्पतालमा कार्यरत छन् ।
चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको केही घन्टा नबित्दै सर्वोच्चले सरकारको निर्णयमा रोक लगाएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीको कार्यसम्पादन फाइल झिकाउन पनि कार्कीले आदेश दिएकी छन् । सर्वोच्चले विपक्षीलाई झिकाउन पनि आदेश दिएको छ । सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गर्ने भएपछि त्यसलाई रोक्न माग गर्दै शुक्रवार नै सर्वोच्चमा रीट निवेदन दर्ता गरिएको थियो ।
अधिवक्ता कपिलदेव ढकालले हालेको रीटमा सर्वोच्चले आजै निर्णय दिएको हो । खनालले आइजीपीको पद बढुवा गर्नुपर्ने र मन्त्रिपरिषदको मात्र अधिकार रहेपनि राजनीतिक नियुक्ति जस्तो गरिएको र मन्त्रिपरिषद बाहिर कुनै दलका शीर्ष नेताले निर्देशन दिएका भरमा नियुक्त गर्न खोज्नु प्रहरी नियमावली विपरित हुने दाबी गर्दै रिट दायर गरेका थिए ।
यता, वरियताक्रमको शीर्ष स्थानमा रहेका नवराज सिलवालले पनि आफूलाई आईजीपी बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । उनको रिट निवेदनमा भोलि सुनवाइ हुने बताइएको छ ।