१२ बैशाख २०८१, बुधबार
Follow Us

दुःख भए पनि हाँसेर बाँच्नुपर्ने रहेछ

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार ०६:२१

विष्णु मुखिया, सचिव, झापा–हङकङ मञ्च
विष्णु मुखियाका लागि हङकङ कर्मभूमि बन्यो, जीवनका ऊर्जाशील सयम हङकङमा बिताए पनि उत्तराद्र्धमा उनले स्वदेश फर्केर नयाँ पुस्तालाई पुर्खाको भूमिमै पसिना बगाउने पे्ररणा दिने सोच बनाएकी छन् । नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि विदेश उनका लागि बाध्यता बन्यो । भन्छिन्– ‘विदेश बसाई रहरले होइन, बाध्यताले हो, सधंैका लागि होइन, अल्पकालीन हो ।’ विदेश बसाइ र भावी योजनाबारे उनीसँग गरिएको कुराकानी ः

० कति भो हङकङ बसोबास गरेको ?
– सन् १९९८ मा आएकी हुँ, त्यस हिसाबले दुई दशक पुग्ने बेला भएछ ।

० कुन सिलसिलामा पुग्नुभएको ?
– सुरुमा घुम्न आइयो, त्यसपछि दुई चार पैसा कमाउन सकिन्छ भनेर बसियो ।

० के के गरिन्छ ?
– काम गर्छु, हङकङमा काम नगरी मुखमा माड लाग्दैन । नेपालमा जस्तो एकजनाले कमाएर परिवार बसेर खान पुग्दैन, यहाँ आफ्ना लागि आफै कमाउनु अनिवार्य छ ।

० कमाउन सजिलो छ ?
– सजिलो केही हुँदैन, यहाँ पनि हामी बिहान उठेर ८ बजे काममा पुग्छौं । ८ देखि १२ घन्टासम्म काम गर्छौंै । बिदाको दिन साथीभाइ भेटघाट, गाउँबेसीको सम्झना तथा समाजसेवाको काममा जुट्दै बित्छ ।

० पैसा पनि धेरै कमाइन्छ होला नि ?
– मेहनत गर्न सकियो भने मनग्गे नै हुन्छ । अहिलेको अवस्थामा नियमित काम गर्नेले मासिक १२ हजार डलर कमाउन सक्छन् । त्यो भनेको नेपालको एक डेढ लाख हो । अझ बढी निर्माण क्षेत्रमा मेहनत गर्नेले त मासिक २० देखि २५ हजार डलरसम्म कमाएको सुन्न पाइन्छ ।

० कति बचत गर्न सकिन्छ ?
– त्यो त व्यक्तिमा भरपर्ने कुरा हो । यो जिन्दगी खै के जिन्दगी भन्न थाल्यो भने जति कमाए पनि पुग्दैन ।

० व्यवसायमा संलग्न नेपालीहरू पनि होलान् नि ?
– हो, यहाँ धेरै नेपालीले व्यवसाय पनि सञ्चालन गर्नुभएको छ । सैलुन, रेस्टुरेन्ट, गरगहना र पर्यटन क्षेत्रमा धेरै नेपाली भेट्न सकिन्छ । अझ महिलाहरूले सञ्चालन गरेको व्यवसाय देख्दा खुसी लाग्छ ।

० उनीहरूको कमाइ नि ?
– त्यस विषयमा मेरो अनुभव नभएकाले भन्न सक्दिनँ । तर मासिक २०–२५ हजार डलर भाडा तिर्नुपर्ने व्यवसायको आम्दानी पनि त्यही किसिमको होला भन्ने अनुमान लगाउन सक्छु ।

० काम गर्ने वातावरण नि ?
– मेरो अनुभवमा असहज वातावरण मैले अहिलेसम्म पाएको छैन, सुरक्षाको चिन्ता गर्नुपर्दैन । हङकङमा रात पर्दैन । खाडी मुलुकमा काम गर्ने घरेलु महिला कामदारको जस्तो व्यवहार हङकङमा सुन्नमा आएको छैन । सबै नियम कानुनमा चल्ने हो, केही कुराको डर मान्नु पर्दैन ।

० शोषितपीडित महिला छैनन् ?
– व्यक्तिगत जीवनमा होलान्, तर कम्पनीमा अथवा घरेलु श्रमिकका रूपमा काम गर्नेहरू शोषित भएको घटना त्यति थाहा छैन ।

० अब उतै बस्ने ?
– होइन, भनेजति पैसा कमाएर आफ्नै देश फर्किन्छु । आफ्नै गाउँठाउँ, साथीसंगी सम्झेर मनमा पीडा भए पनि बाध्य भएर विदेशमा बसेकी छु । बुढेसकालमा आफ्नै देश फर्किन्छु, देशको सेवामा जुट्नेछु ।

० ऊर्जाशील समय विदेशमा, बुढेसकालमा नेपाल ?
– रहरले विदेशिएको होइन, हाम्रो बाध्यता बन्यो । फर्कंदा बुढो शरीर मात्र फर्कंदैन, मसँग भएको सीप, अनुभव र पैसा पनि लिएर आउँछु । नयाँ पुस्तालाई स्वदेशमै पसिना बगाउने पे्ररणा दिन्छु ।

० नेपाल फर्केर के गर्नुहुन्छ ?
– त्यसबारे योजना बनिसकेको छैन, यद्यपि वस्तुस्थिति बुझेर के गर्दा समाजमा प्रभावकारी हुन सकिन्छ वा कामबाट आनन्द लिन सकिन्छ, त्यही गर्छ । जे गर्छु राम्रोका लागि गर्छु । त्यो राजनीति पनि हुनसक्छ, व्यापार व्यवसाय वा सामाजिक काम पनि हुनसक्छ ।

० राजनीतितिर कसरी ध्यान गयो ?
– राजनीतिक पृष्ठभूमिमै जन्मे हुर्किकी हुँ, बुवा प्रकाशचन्द्र (पीसी) मुखिया पञ्चायतकालमा मन्त्रीसमेत भइसक्नुभएको थियो । प्रजातन्त्र आएपछि कांगे्रस राजनीतिमा संलग्न हुनुभयो । समय र जनताले पीसी मुखियाको निरन्तरता खोजे भने पछि नहट्ने मनस्थिति बनाउँदैछु ।

० विदेशमा पनि राजनीति संगठन विस्तार भइरहेको छ नि ?
– हरेक कुरामा राजनीति, संगठन खोल्ने र अघि बढ्न खोज्नेको खुट्टा तान्ने प्रवृत्ति नेपालहरूमा बढी देखिन्छ ।

० हङकङमा पनि त्यस्तै छ ?
– हङकङमा राजनीतिक दलको भ्रातृसंस्थाभन्दा पनि जातीय संगठनहरू बढी छन् । यहाँ जातीय र क्षेत्रीयवाद हाबी देखिन्छ । यद्यपि यसले मूलधारको राजनीतिभन्दा सकारात्मक काम गरेको पाइन्छ । कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा यस्ता जातीय संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । किरातको उधौली, तामाङ गुरुङको ल्होछार तथा अन्य विधि संस्कृति यहाँ देख्न पाइन्छ ।

० एउटा जातिले अर्कोलाई नबोलाउने हुँदैन ?
– जातीय सद्भावको नमुना देख्न पाइन्छ । नेपालमा भन्दा विदेशमा बस्ने नेपालीलाई आफ्नो पहिचान र संस्कृति प्यारो लागेको अनुभूत गराउँछ । व्यक्तिगत रिसइबी बेग्लै होला, तर नेपाल र नेपालीको जातीय सद्भावको नमुना हेर्न विदेशमै जानुपर्छ ।

० कुन कुन संघ–संस्थामा आबद्ध हुनुहुन्छ ?
– पद ओगटेर मात्र हुँदैन, जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ भन्ने मान्यता राख्छु । विदेशमा बसेर धेरै जिम्मेवारी लिनुभन्दा जुन पदमा बसिएको छ, त्यसलाई इमान्दार निर्वाह गर्नुपर्छ । त्यसैले म अहिले झापा–हङकङ मञ्चमा छु । सदस्य, कोषाध्यक्ष, हुँदै अहिले सचिव छु ।

० के गर्छ यो मञ्चले ?
– विशेषतः झापाबाट हङकङ हाइ बसोबास गर्नेहरूको हक हितका लागि मात्र होइन, झापामा पनि केही गरौं भन्ने उत्साह बोकेको संस्था हो । झापालीलाई आइपर्ने समस्या साथ दिँदै आएका छौं ।

० के के गर्नुभयो अहिलेसम्म ?
– अहिले नै यी कुराको मूल्यांकन गर्ने बेला भएको छैन, हाम्रा सहयोगी हातहरू फैलाउन प्रयास गर्दैछौं । त्यसको मूल्यांकन हामीले भन्दा पनि झापाबासीले गरोस् भन्ने मेरो चाहना हो ।

० लेखनमा पनि संलग्न हुनुहुन्छ ?
– पुस्तकका रूपमा केही निकाल्न सकेकी छैन, यद्यपि मनका भावनालाई शब्दमा उतार्दा आनन्द अनुभूत हुन्छ । विशेषतः कविता मन पर्छ ।

० कवितामा के समेटिन्छ ?
– अनुभव र जिन्दगीको भोगाइ । त्यसमा निराशा हुँदैन, केही मायापे्रमको मिश्रण पनि पाइन्छ, जसले बाँच्नलाई पे्ररणा दिन्छ ।

० के रहेछ जिन्दगी ?
– कहिले नसिद्धिने संघर्ष रहेछ, कहिले पूरा गर्न नसकिने पाठ रहेछ । यहाँ मेहनत र संघर्ष गरिराख्नुपर्ने रहेछ, दुःख भए पनि हाँसेर बाँच्नुपर्ने रहेछ ।